वन्यजन्तुको मार्ग अवरोध नगर


     नेचर न्युज    
     माघ १० गते २०७८ मा प्रकाशित


सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी आइतबार (माघ ९ गते ) दिउँसो एउटा भाले गैंडाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गको भरतपुर गोद्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर करिब ११ वर्षको भाले गैंडा मारिएको छ । 

वन्यजन्तु ओहोरदोहोर भइरहने क्षेत्रमा वन्यजन्तुलाई पासो थापे जस्तो गरेर खनिएको खाल्डो बेलैमा नपुर्दा यस्तो दुर्घटना भएको देखिन्छ । काम सकिएपछि पासो जस्तो खाल्डो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन । वन्यजन्तु ओहोरदोहोर गर्ने संवेदनशील क्षेत्रको अवस्थालाई बुझेर त्यसैअनुसार निर्माणको काम गरिनु पथ्यो । यसो भएको पनि देखिएन ।  

विकास निर्माणका काम गर्दा वन्यजन्तु संरक्षणकालागि गर्नु पर्ने सामान्य सावधानी पनि नअपनाउँदा यस्तो घटना भएको देखिन्छ । जंगलमा वन्यजन्तु झगडा गर्दछन् । जित्ने जंगलमै बस्छ । हार्ने भागेर केही पर दौडन्छ । आइतबार दिउँसो पनि यस्तै घट्ना भएको देखिन्छ । दुईवटा गैंडा आपसमा जुधेको र हारेको गैंडा भाग्दै गर्दा खाल्डोमा परेको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन् । यसले के देखाउँछ भने वन्यजन्तु कुनै पनि बेला जंगल छाडेर हिडीरहने मुख्य सडक सम्म आइपुग्न सक्छन् । वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग सधै सुरक्षित राखिनु पर्छ । 

टिर्कौली बरन्डाभार जंगल क्षेत्र चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु चुरे र महाभारत पर्वत शृङ्खला हुँदै ओहोरदोहोर गर्ने जैविक मार्ग हो । यो राजमार्गमा दिउँसै पनि चित्तल र गैंडा देखिन्छन् । यसैले पनि वन्यजन्तु मैत्री संरचना बनाउनु पर्दछ । विकास निर्माणका काम गर्दा पनि वन्यजन्तु फस्ने, खाल्डो जस्ता संरचना बनाउनु हुँदैन । 

गत वर्ष भएको गणना अनुसार नेपालमा ७ सय ५२ गैंडा रहेका छन् । तीमध्ये चितवन निकुञ्ज र आसपासको क्षेत्रमा ६ सय ९४ वटा गैंडा छन् । चालु आर्थिक वर्षमा २१ गैंडा मरेका छन् । यसरी गैंडाको मृत्युदर बढ्ने अवस्था आउनु संरक्षणमा चुनौती बढ्नु हो । वन्यजन्तु संरक्षणका चुनौतीको अध्ययन गरी त्यसै अनुसार कार्यक्रम बनाएर अघि बढ्नु पर्छ । यसो हुन सकेन भने विश्वबाट लोप हुने अवस्थाका वन्यजन्तुको संरक्षणमा असफल हुने छौं । असफल हुनुको छुट हामीलाई छैन । यसैले संरक्षणमा ध्यान दिउँ । हिजोका गल्ती कम्जोरीबाट पाठ सिकेर अगाडी बढ्नुको विकल्प छैन ।   

एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालको नाम सँग जोडिएको विश्वकै लोप हुने अवस्थाका वन्यजन्तु हाम्रो लापारवाहीको कारणले मारिनु दुर्भाग्य हो । यस्तो घटना दोहोरिन नदिन गैंडा मारिएको घट्नाको अनुसन्धान गरेर निकुञ्जले कानुनी कारबाही अगाडि बढाउनु पर्छ ।