१६ वर्षपछि बाघको छाला किनबेचमा संलग्न पक्राउ


     नेचर न्युज    
     चैत्र १० गते २०७८ मा प्रकाशित


बाघको छाला किनबेचमा संलग्न रहेको फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको थियो । छालाको किनबेछमा संलग्न भएको फैसला भएर पनि लामो समयदेखि फरार रहँदै आएका २ जना मध्ये तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरुङलाई भरतपुर १ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर जिल्ला कारागार भरतपुरमा बुझाइएको बताइएको छ । २०६२ सालको असोज १४ गते पक्राउ परेका गोरखाको सदिबास ३ का सुरेन्द्र गुरुङ, सिम्जुङका वीरबहादुर गुरुङ र अन्य २ जना आखेटोपहार किनबेचमा संलग्न रहेको भनेर निकुञ्जले मुद्दा दायर गरेको थियो ।