कोप –२८ : नेपाललाई क्षतिपूर्ति देउँ


     नेचर न्युज    
     मंसिर १७ गते २०८० मा प्रकाशित


कास्कीको माछापुच्छ्रे« गाउँपालिका १ टुसेका ७२ बर्सिया दलबहादुर गुरुङले हिमालको हिउँ पग्लिँदै गएको अनुभव प्रत्येक वर्ष हुँदै गएको बताएका छन् । पहिले सेतो देखिने माछापुच्छ्रे« लगायतका हिमाल अहिले कालापत्थर जस्ता देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे । पहिले हामी ठिटो हुँदा हिमाल सेतो हुन्थ्यो ।

हामी केटकेटी हुँदा गाउँमै पनि हिउँ पथ्यो । अहिले त गाउँको के कुरा लेकमै हिउँ पर्न छाड्दा हिमाल पग्लदै काला चट्टान जस्ता देखिन थालेको उनले सुनाए । सेतो हुनु पर्नेमा हिमाल पग्लदै कालो भयो उनले भने । पहिलेको भन्दा अहिले वातावरण धेरै नै बदली भएको उनको अनुभव छ । यो समयमा धेरै नै झरी भएर हिउँ हालेर हिमाल सेतो हुनु पर्ने हो । चिसो बढेर ठन्डा हुनु पर्ने हो तर हिउँ नै नपर्दा हिमाल कालो भएको उनले सुनाए । 

पहिले भन्दा अहिले धेरै नै परिवर्तन भयो । किन हो यस्तो परिवर्तन भएको भन्ने हामी गाउँलेलाई थाहा भएन । पानी नआएपछि खेती किसान हुँदैन । यसको प्रभाव गाउँमा देखिएको उनले बताए । मङ्सिर र पुस हो हिउँ हाल्नु पर्ने मङ्सिर गइसक्न लाग्यो हिउँ हालेको छैन उनले भने । पुसमा के हो कसो हो त्यो थाहा छैन । बालीहरू लगाएको छ पानी आएको छैन । पोहोर पनि त्यस्तै भो परार पनि त्यस्तै भो तीन साल लगतै हिउँदमा पानी आएन । पानी नपरेपछि गाउँमा लगाएको गहुँ, उवा, आलु असर परेको उनले सुनाए ।

कास्कीको माछापुच्छ्रे« गाउँपालिका १ टुसेका ७२ बर्सिया दलबहादुर गुरुङ ।

यसरी वातावरणमा आएको परिवर्तनले जनतालाई बाधा परेको उनले सुनाए । विश्वव्यापी कार्बन उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान  र हानिकारक प्रभाव भोगिरहेको छ । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेस हालै नेपाल आउँदा अन्नपूर्ण आधारशिविर पुगेर हिमालय क्षेत्रमा जलवायु परिवर्तनको अवस्था देखेका थिए । दुबईमा भइरहेको कोप–२८ मा शनिबार भएको हिमाल: हामीलाई जलवायु सङ्कटबाट कसले बचाउँछ भन्ने शीर्षकमा भएको सत्रमा महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताएका छन् ।

उनले भने मैले आफैले हिमालमा जलवायु परिवर्तनका असर हेरेर आएको छु । समस्या समाधान गर्न जिम्मेवार मुलुक र निकायहरू छिटोभन्दा छिटो लाग्नु पर्ने उनको सुझाव छ । नेपालमा आउँदा गुटेरेस अन्नपूर्ण आधारशिविर पुगेका थिए । सत्रको अध्यक्षता गरेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण हिमालहरू सङ्कट परेको भन्दै हिमाल जोगाउन अन्तर्राष्ट्रिय समुदायका ध्यानाकर्षण गराएका थिए ।

दाहालले नेपाल जलवायु परिवर्तनको सिकार भइरहेको बताउँदै नेपाल र नेपालीमाथि अन्याय भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले नेपालमाथि डरलाग्दो अन्यायका कारण यहाँका जनता पहिरो, बाढी, जङ्गलको डढेलो, हिमशृङ्खला पग्लिने, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट प्रभावित भएको बताउँदै समस्या समाधानमा विश्वलाई अनुरोध गरे । दाहालले विकसित मुलुकहरूको गतिविधिका कारण वातावरणमा नकारात्मक प्रभाव परिरहेको र त्यसको असर जलवायुमा देखिएका बताए । संसारका २० ठूला अर्थतन्त्र मुलुक (जी–२०) ले विश्वको कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्दै आएको छ ।

जसको मार नेपाल जस्ता साना मुलुकहरूलाई परिरहेको छ । प्रधानमन्त्री दाहालले सन् २०१५ मा भएको पेरिस सम्झौताप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । सम्झौता अनुसार यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्व समुदाय सहमत भएका थिए । उक्त सम्झौता कार्यान्वयन गर्नालागि कार्बन उत्सर्जन कम गर्नुपर्ने हुन्छ । तर ठूला मुलुकहरूले आवश्यकता अनुसार कार्बन उत्सर्जन कटौती नगरेका कारण जलवायु परिवर्तनमा नकारात्मक असर परिरहेको छ । यसको असर नेपाल जस्ता गरिब देशले भोग्नु परेको छ ।

नेपाली जनताका आवाज प्रधानमन्त्री दाहालले कोप –२८ मा राखेका छन् ।  विकसित मुलुकहरूको गतिविधिका कारण नेपालले भोग्नु परेको जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नु परेको प्राकृतिक प्रकोप, विपत् र जोखिमको भरपाई स्वरूप नेपालले पाउनु पर्ने क्षतिको भरपाई छिटो हुनु पर्छ ।