जापानको नागोयामा नेपाल महोत्सवको रौनक, तीन दिनसम्म नेपाली संस्कृति र पर्यटनको प्रवर्द्धन


     ऋषि बराल    
     जेठ १७ गते २०८३ मा प्रकाशित



नागोया : जापानको नागोया सहरमा भइरहेको चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपोमा नेपाली समुदाय र स्थानीय जापानीहरूको समेतले रौनक बढेको छ ।  फेस्टिभलमा नेपाली कला संस्कृति, नेपाली परिकारको स्वाद समेत लिन पाउने भएकोले पनि नेपाली मात्र होइन स्थानीयहरू समेतको बाक्लो उपस्थितिले फेस्टिभलको रौनक बढेको महोत्सवका आयोजक संस्थाले बताएको छ । 

एनआरएनए नागोया जापानको आयोजनामा तथा नेपाल सरकार, टोकियोस्थित नेपाली राजदूतावास, आइची प्रिफेक्चर सरकार, नागोया सिटी र एआईएको सहयोगमा महोत्सव भइरहेको छ । जापानको नागोया स्थित एडियोन हिलाया प्लाजामा भइरहेको महोत्सवमा नेपालको प्राकृतिक सुन्दरता, हस्तकला तथा नेपाली पहिचानलाई जापानको साथै अन्य देशबाट आएका पर्यटक सामु प्रस्तुत गरी पर्यटन प्रवर्धनमा समेत योगदान दिने गरी आयोजना गरिएको महोत्सवका उपसंयोजक सुरेशचन्द उपाध्यायले बताए । 

नेपालका हस्तकला व्यवसायी पनि महोत्सवमा आफ्ना उत्पादन लिएर सहभागी भएका छन् । यसले नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजकले बताएका छन् । शनिबार देखि सुरु भएको महोत्सव सोमबार सम्म चल्ने छ । तस्बिरमा हेर्नुहोस् नागोयामा भइरहेको नेपाली फेस्टिभलमा रौनक । 


तस्बिरहरू : ऋषि बराल