परम्परागत दाइँ महोत्सवमा पर्यटकले धपाए गोरु, चुटे धान


     नेचर न्युज    
     मंसिर १३ गते २०८३ मा प्रकाशित


पोखरामा शनिबार दाइँ महोत्सवमा विदेशी पर्यटक दाइँ राख्ने काममा सहभागी भएका छन् । पर्यटकले नेपाली परम्परागत दाइँको प्रत्यक्ष अवलोकन र अनुभव मात्र गरेनन्, आफैँ गोरु धपाए, धान चुटे, पञ्चेबाजाको तालमा नाचगान गरे। खेतमै तयार पारिएका सेलरोटी र चाम्रे पनि चाखे। नेपाली कृषि संस्कृतिको प्रत्यक्ष अनुभव गराएर पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पोखरा पर्यटन परिषद्ले दाइँ महोत्सव आयोजना गरेको हो। महोत्सवमा सहभागी पर्यटकले नेपाली परम्परागत कृषि प्रणालीलाई नजिकबाट बुझ्न पाएकोमा खुसी व्यक्त गरेका छन्।

चीनका पर्यटक सन्देशले आफ्नो देशमा पनि धान खेती हुने गरेको बताए । नेपालमा समेत पछिल्लो समय गोरुको प्रयोग घट्दै गएको र त्यसको ठाउँमा ट्याक्टरको प्रयोग बढ्दै गएको उनले सुनाए। न्युजिल्यान्डकी पर्यटक सियोनीले आफ्नो देशमा धानखेती नहुने भएकाले नेपालमा धान भित्र्याउने परम्परागत विधि प्रत्यक्ष देख्न पाउँदा निकै खुसी लागेको बताइन्। पहिलोपटक नेपाल आएकी उनले धान भित्र्याउने परम्परागत प्रक्रिया नजिकबाट अवलोकन गर्न पाएको अनुभव सुनाइन्।

न्युजिल्यान्डकै अर्का पर्यटक कियोनले पनि पोखरा आएर नेपाली कृषि शैली बुझ्न पाउँदा खुसी लागेको बताए। अन्नपूर्ण पदयात्राका लागि पोखरा आएको बताउँदै उनले फेरि पनि पोखरा आउने इच्छा व्यक्त गरे। पोखरा महानगरपालिका–२७, लेखनाथस्थित तालचोक नजिकैको नौबिसे फाँटमा आयोजित महोत्सवमा विभिन्न देशका पर्यटकले नेपाली कृषि संस्कृतिको अवलोकन मात्र गरेनन्, आफैँ पनि कृषि कर्ममा सहभागी भए। खेतमै पुगेर परम्परागत दाइँमा सहभागी हुन पाउँदा नेपालको बसाइ सम्झनालायक बनेको उनीहरूले बताए।

महोत्सवमा पर्यटकले खेतमै पकाइएका परम्परागत परिकारका साथै पोखरामै उत्पादित सुन्तलाको स्वादसमेत लिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली परम्परागत कृषि प्रणाली पर्यटकलाई देखाएर कृषि पर्यटनको विकास गर्न यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए। नयाँ पुस्ताका युवासमेत धान कसरी उत्पादन हुन्छ भन्ने विषयमा अनभिज्ञ रहेको उल्लेख गर्दै उनले विदेशी पर्यटकका साथै स्थानीय बालबालिकाका लागि पनि यस्ता महोत्सव उपयोगी हुने धारणा राखे।

आयोजक पोखरा पर्यटन परिषद्ले यसअघि लेखनाथमै असारे रोपाइँ महोत्सव आयोजना गर्दै आएको थियो। परिषद्का अध्यक्ष हरि भुजेलले असार १५ मा रोपाइँ महोत्सवमार्फत पर्यटकलाई धान रोपाइँको जानकारी र अनुभव गराइएको बताए। मङ्सिरमा धान भित्र्याउने परम्परागत कृषि कर्मबारे जानकारी गराउनुका साथै पर्यटकलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले दाइँ महोत्सव आयोजना गरिएको उनले बताए। आगामी दिनमा पनि रोपाइँ र दाइँ महोत्सवलाई निरन्तरता दिने उनको भनाइ छ।

पोखरामा कृषि पर्यटनमार्फत पर्यटक आकर्षित गर्ने मात्र नभई यहाँका सांस्कृतिक पर्व र परम्परामा समेत पर्यटकलाई जोड्ने उद्देश्यले विभिन्न उत्सव तथा महोत्सव आयोजना हुँदै आएका छन्। फागुपूर्णिमामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले होली महोत्सव आयोजना गर्छ। त्यसैगरी, तिहारमा होटल संघ नेपाल पोखराले भाइटीका महोत्सव, दसैँमा महिला पर्यटन व्यवसायी मञ्चले दसैँ महोत्सव र तीजमा पर्यटन व्यवसायी महिला संघ नेपालले पर्यटकलाई लक्षित गरी तीज महोत्सव आयोजना गर्दै आएका छन्।

पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पोखरामा ११ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। यहाँ वार्षिक ३८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। पोखरामा उत्पादित धानले महानगरको कुल मागको करिब ३० प्रतिशत मात्र धान्ने गरेको बताइएको छ। सिँचाइ सुविधा पुगेका पोखराका खेतमा समेत सहरीकरण बढेसँगै कृषि क्षेत्र घट्दै गएको छ। पोखराका ग्रामीण क्षेत्रबाट सहरतर्फ बसाइँ सर्ने क्रम बढ्दा गाउँका खेतबारी बाँझिँदै गएका छन्। यसले कृषि उत्पादनमा समेत गिरावट आएको कृषि विज्ञहरू बताउँछन्।

धेरै धान उत्पादन गर्ने किसान सम्मानित

दाइँ महोत्सवका अवसरमा सबैभन्दा धेरै क्षेत्रफलमा धानखेती गरी बढी उत्पादन गर्ने किसानलाई सम्मान गरिएको छ।

सबैभन्दा धेरै धान उत्पादन गर्ने पोखरा महानगरपालिका–२७ का शिवप्रसाद भण्डारीलाई १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ। उनले ११७ रोपनी क्षेत्रफलमा धानखेती गरी ३६० मुरी धान उत्पादन गरेका छन्।

त्यसैगरी, पोखरा–१३ का मिलन अधिकारी दोस्रो धेरै धान उत्पादन गर्ने किसान बनेका छन्। उनले ७० रोपनी क्षेत्रफलमा धानखेती गरी २८० मुरी धान उत्पादन गरेका थिए। उनलाई सात हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।

त्यस्तै, पोखरा–२८ का सोवितबहादुर अधिकारीलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ। उनले १८ रोपनी क्षेत्रफलमा धानखेती गरी १०० मुरी धान उत्पादन गरेको आयोजकले जनाएको छ।