
पाेखरा : गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध साेमबार अविश्वास प्रस्ताव पेस भएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेलले संसद्मा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको तर्फबाट नेपालीले अविश्वास प्रस्ताव पेस गरे ।
नयाँ मुख्यमन्त्रीमा नेता नेपालीलाई नै प्रस्ताव गरिएको छ । प्रस्ताव पेस भएपछि अविश्वासमाथि छलफल सुरु भएको छ । सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पेस भएको प्रस्तावमाथि सांसदले बोल्ने क्रम सकिएपछि मतदान हुनेछ । १५ वैशाख सम्म अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।
संसद्मा अविश्वास पेस गर्दै कांग्रेस संसदीय दलका नेता नेपालीले मुख्यमन्त्री गुरुङले प्रस्तावसँग डराएर चालु हिउँदे अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाए । केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बनेको नेता नेपालीले आराेप लगाए । ‘यो प्रदेश सरकार केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बन्यो । यो गण्डकी प्रदेशका जनताको भावना प्रतिकूल छ,’ उनले भने, ‘अविश्वास आएपछि जसरी अन्त्य गर्दिनु भयो । त्यो संसदीय व्यवस्थाको मान्य र मूल्यविपरीत छ । त्यसमा हाम्रो घोर आपत्ति छ ।’
गण्डकी प्रदेश सरकारले पनि संविधानको अवहेलना गरेको उनले बताए । ‘समर्थन फिर्ता भए विश्वासको मत लिनुपर्छ भन्ने संविधानको धारा १८८ मा स्पष्ट व्यवस्था छ । तर, यहाँ मुख्यमन्त्रीले त्यो व्यवस्थाको उल्लंघन गर्नुभयो,’ प्रस्तावित मुख्यमन्त्री नेपालीले भने । संवैधानिक व्यवस्थालाई नमानेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको नेपालीले बताए । ‘प्रधानमन्त्रीले काम गर्न दिइएन भन्नुभयो । तर, सदनमा प्रतिपक्षीले कहिल्यै असहयोग गरेन सुनाए । ‘ अविश्वास प्रस्ताव पेस भएर केही सांसदले बोलेपछि बैठक भोलि १२ बजेसम्म स्थगित भएको छ ।