
म कसरी लाटोकोसेरो ?
जब तपाई अँध्यारोमा छामछुम गरिरहेका हुन्छौ
म प्रस्ट देखिरहेको हुन्छु
म कसरी लाटोकोसेरो ?
जब अँध्यारो बढ्दै जान्छ
म देख्छु
अचम्मका दृश्य
नेताको झन्डावाल पजेरो
प्रवेश गरेको –
न्यायधिशको निवासमा
र व्यापारीको बङ्गलामा
म उड्दै झ्यालबाट नियाल्छु
र देख्छु
दशकौँपछि भेटिएका सहपाठीझैँ
अङ्कमाल गरिरहेका
कानेखुसीमा बात मारेका
फाइलका ठेलीमा हेर्दै निधार खुम्च्याएका
साथै देख्छु
चियर्स गर्दै
र दोबारेर सुटुक्क
कोटको गोजीमा चेक घुसारेका
त्यसो त
थुप्रै पटक
तारे होटेलबाट
मात्तिएर ढुन्मुनिदै निस्केको पनि देखिन्छ तपाईँको नेता
तपाई त आदर्श नै मानेर
उनैको फोटो टाँगेर कोठामा
उनको एक शब्दमा बलिदान हुन तैयार हुनेछु भन्छौ
उनकै कारण हामीजस्ता श्रमजीवीको सपना जिउँदा छन् भन्छौँ
नारायण नारायण
अब म के भनूँ ?
दिन र रातमै
मान्छे नपत्याउने गरी फेरिन्छ भन्ने थाहा नपाउने तपाई
र सबै करतुत आफ्नै आँखाले देख्ने
म कसरी लाटोकोसेरो ?
छिमेकको कुकुरले
आफ्नो गेटैमा आची गरेको थाहा नपाउने
तपाई कसरी बाठो ?
झिसमिसेमै छिमेकीले बिरालो चालले
कुकुरलाई तपाईँको गेटै नजिक आची गराएको दृश्य
सम्झेर म ताज्जुब खान्छु
उज्यालोमा अँगालो मार्ने मानिसहरू
अँध्यारोमा कसरी खुँडा उज्याउछन्
अँध्यारोले छोपेका दृश्यहरू
अँध्यारोमै छर्लङ्ग देखिँदो रहेछ
कहाँ घाममा मात्र छर्लङ्ग देखिन्छ र ?
जब अँध्यारोमा नदेखेर तपाई निरीह बन्छौँ
म प्रस्ट देखिरहेको हुन्छु
म कसरी लाटोकोसेरो ?
(डा. रोशन शेरचनले त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागबाट वातावरणीय विज्ञानमा विद्यावारिधि गरेका हुन । उनी साढे दुई दशक देखि जैविक विविधता, वन र पर्यटन क्षेत्रमा कार्यरत छन् ।)




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…