पाेखराका पर्यटन व्यवसायीले सुरु गरे नि:शुल्क एम्बुलेन्स सेवा


     नेचर न्युज    
     जेठ २ गते २०७८ मा प्रकाशित


पाेखराकाे लेकसाइडका पर्यटन व्यवसायीले कोरोना संक्रमित बिरामीका लागि लक्षित गरेर अस्पताल आउजाउमा सघाउन नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । काेराेना संक्रमण दर बढेपछि पर्याप्त एम्बुलेन्स अभावमा कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भइरहेकाे अवस्थामा पर्यटन व्यवसायीले एम्बुलेन्स सेवा सुरु गरेका हुन् । अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन एम्बुलेनस्स सेवाले बिरामी र आफन्तलाई आउजाउमा सहज हुने छ ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्षद्धाेय अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र टिकाराम सापकोटाकाे सक्रियतामा एम्बुलेन्स सेवा सुरु भएकाे हाे । निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि व्यवसायी आफैले रकम जुटाएका छन् । बालहितकारी परियोजना नेपालले संचालन गर्दै आएको तर पछिल्लो समय बिग्रेर थन्केको एम्बुलेन्सलाई मर्मतसम्भार गरेर संचालनमा ल्याएक हुन् । एम्बुलेन्स मर्मत खर्च दुईलाख रुपैयाँ लागेकाे सापकाेटाले बताए ।

काेराेना संक्रमण दर बढेपछि एम्बुलेन्स सेवा पाउँनै मुस्कील भएकाे छ । एम्बुलेन्स पाए पनि महंगो छ । यसैले आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पतालसम्म आउजाउमा सघाउने गरि नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेकाे अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सुनाए । पहिलाे चरणमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आउजाउमा सघाउने गरि सेवा सुरु भएकाे हाे । आवश्यकता अनुसार क्षेत्रीय अस्पतालका काेराेना संक्रमित र उनीहरुका कुरुवाका लागि पनि खाना सहयोग गर्न तयार रहेको सापकाेटाले सुनाए । अक्सिजन ओसारपसार गर्न पनि यातायातको अभाव भएको जानकारी आएकोले त्यसकालागि पनि सवारी साधन उपलब्ध गराउने उनले बताए ।

कोरोना कहर सामान्य नभए सम्म कोभिड बिरामीलाई सेवा दिने गरि ६ महिनाकालागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन फ्युल, सवारीचालकको तलब, एम्बुलेन्स मर्मत लगायतकालागि आवश्यक ७ लाख रुपैयाँ लाग्ने अनुमान छ । पर्यटन व्यवसायी गणेश भट्टराईले पहिलो चरणमा १ लाख ५६ हजार, टिकाराम सापकोटाले ७५ हजार, रामचन्द्र भट्टराईले ५१ हजार, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले ५१ हजार, रेवानका उपाध्यक्ष नरेश भट्टराईले ५१ हजार,रुपैयाँ एम्बुलेन्स सञ्चालनकालागि सहयोग गरेका छन् । विभिन्न संस्था र व्यक्तिबाट सहयोग उपलब्ध गराउने र थप्ने क्रम जारी नै रहेको छ । 

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले कोरोना कहर संग जुध्न आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो अप्ठ्याराे परिस्थिति संग जुध्न परिषदले चीनबाट ४ वटा हाइफ्लोअक्सिजन मसिन सहित स्वास्थ्य सामाग्री ल्याउन कम्पनी संग सम्झौता गरिसकेको बताए । 

पोखरा ६ बैदामका वडा अध्यक्ष जगतबहादुर पहारीले पोखरा महानगरपालिकाले ३ वटा एम्बुलेन्स सञ्चालनमा ल्याए पनि कोभिड संक्रमित बढ्ने क्रम नरोकीएकोले एम्बुलेन्सले थेग्नै नसकेको अवस्थामा पर्यटन व्यवसायीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएर महत्त्वपूर्ण सहयोग गरेको बताए । बालहितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले कोभिड कहर संग जुध्न बालहितकारी परियोजनाको एम्बुलेन्स प्रयोगमा आउँदा खुसी लागेको सुनाए ।