कोरोना सङ्क्रमितलाई विवेकशील साझाले उपलब्ध गरायो तातो भात


     नेचर न्युज    
     जेठ ५ गते २०७८ मा प्रकाशित


पोखरा :   कोरोना सङ्क्रमित र कुरुवालाई विवेकशील साझाले गत तीन दिनदेखि तातो भात उपलब्ध गराउँदै आएको छ। कोरोना सङ्क्रमण दर बढेपछि प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिरहेका कोरोना सङ्क्रमित र कुरुवाका लागि यो अभियान सुरु गरिएको विवेकशील साझा पार्टीका गण्डकी प्रदेश सदस्य तथा अभियानका विभाग प्रमुख अशोक खड्काले बताए।

लकडाउनका कारण यातायात सेवा बन्द छ । अस्पताल वरपरका होटेल रेस्टुरेन्ट पनि बन्द छन्। विभिन्न जिल्लाबाट स्वास्थ्य उपचार गर्न आएका बिरामी र कुरुवालाई खानाको समस्या परेको जानकारी आएपछि कोरोना सङ्क्रमित र कुरुवाका लागि आइतबारदेखि तातो भात अभियान सुरू गरेको खड्काले बताए। विवेकशील साझा पार्टी पोखरा महानगर कमिटीले यो अभियान चलाएको हो । दश दिनका लागि भनेर सुरु गरिएको यो अभियानमा अवस्था हेरेर समय थपिने पार्टीका महानगर संयोजक अजय श्रेष्ठले बताए।

कोरोना सङ्क्रमण नियन्त्रण गर्न यति बेला कास्की जिल्ला लकडाउनमा छ। गण्डकी प्रदेशका ११ वटा जिल्ला मात्र होइन अक्सिजन अभाव र बेड अभावमा काठमाडौँ, बुटवल लगायत देशका विभिन्न सहरबाट पनि कोभिडका बिरामी उपचार गर्न पोखरा आउने गरेका छन्। 

अभियान अन्तर्गत दिनको एकपटक बेलुका अस्पतालमै गएर खाना उपलब्ध गराउँदै आएका हुन्। पहिलो र दोस्रो दिन बेलुका दुई सय सेट दालभात, तरकारी, अण्डा, सलादको व्यवस्था गरिएको खड्काले सुनाए। यो अभियान पार्टीकै सदस्य साथीहरूबाट पैसा उठाएर सुरु गरिएको हो। पछिल्लो समयमा विभिन्न सहयोगी मनहरूबाट चामल, दाल, आर्थिक, भौतिक रूपमा सहयोग प्राप्त हुन थालेको उनले बताए। मङ्गलवार १ सय ७० सेट तातो भात कोभिड सङ्क्रमित र कुरुवालाई उपलब्ध गराएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वय गरेर यो अभियान सुरु गरिएको उनले सुनाए । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना सङ्क्रमण दर बढेकोले जोखिमबाट जोगिन सहयोग अभियान एकद्वार प्रणालीबाट मात्र हुने उल्लेख गरेको थियो। कास्की प्रशासनले सहयोगदातालाई एकद्वार प्रणालीबाट सहयोग गर्न अनुरोध गरेको छ। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड सङ्क्रमित र कुरुवाका लागि तातो भात अभियानमा सहभागी ।