एकसय शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याउँदै पोखरा महानगरपालिका


     नेचर न्युज    
     जेठ १० गते २०७८ मा प्रकाशित


पोखरा : पोखरा महानगरपालिकाले चार भेन्टिलेटर सहित एकसय शैयाको कोभिड अस्पताल बिहिबारदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि कोभिड केयर अस्पताल सञ्चालनमा ल्याउन लागेको महानगरपालिकाले बताएको छ  ।

साविक लेखनाथ नगरपालिकाको कार्यालय शिशुवामा कोभिड केयर अस्पताल सञ्चालनमा ल्याउन लागिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले जानकारी दिए । साविक लेखनाथ नगरपालिका रहेको भवनमा पोखरा २७ को वडा कार्यालय सञ्चालनमा थियो । वडा कार्यालय भाडामा लिएको घरमा सारेर अस्पतालका लागि आवश्यक पूर्वाधार जडानको काम भइरहेको हो ।

दुईतले भवन सहितको अस्पताल ३७ रोपनी क्षेत्रफलमा फैलिएको छ । बिभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा कोरोनासँग लड्न बिहिबार (जेठ १३ गते) देखि सञ्चालन गर्ने गरी अक्सिजनको पाइप फिटिङ, शैया जडान, एक्सरे मेसिन, भेन्टिलेटर, हाइप्रो अक्सिजन मेसिन जडानलगायत आवश्यक स्वास्थ्य सामग्री फिटिङको काम भइरहेको प्रमुख जिसिले जानकारी दिए । सकेसम्म तोकिएकै मितिमा अस्पताल सञ्चालनमा आउने छ । नभए एकदुई दिन भन्दा ढिला  नहुने उनले बताए । अस्पताल सञ्चालनकालागि विभिन्न संघसंस्थाले आवश्यक मेसिन, स्वास्थ्य सामग्री सहयोग गरिरहेको पनि उनले सुनाए ।

पोखरा २७ शिशुवामा पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याउँदै गरेको कोभिड केयर अस्पतालमा राखिएका बेड ।

अस्पताललाई चाहिने आवश्यक जनशक्तिका रुपमा महानगरपालिकाका डाक्टर, नर्स र स्वास्थ्यकर्मी खटिने प्रमुख जिसिले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले अस्पतालकालागि आवश्यक मेडिकल सुपरिटेण्डेन उपलब्ध गराउने भएको पनि उनले सुनाए । अस्पताललाई डाक्टर, नर्स, प्राविधिक सहित कम्तिमा पचासजनाको जनशक्ति चाहिन्छ । महानगरपालिकामा ७/८ जना डाक्टरसहित २ सय ५० बढी जनशक्ति रहेको पनि उनले बताए । उनीहरूलाई केन्द्रीकृत गरेर अस्पताललाई चाहिने थप प्राविधिक जनशक्ति पूरा गरेर अस्पताल बिहिबारसम्म सञ्चालनमा आउने गरी काम भइरहेको प्रमुख जिसिले सुनाए ।

अस्पताल सञ्चालनमा ल्याउन झण्डै दुई करोड खर्च लाग्ने मेयर जिसिले बताए । तत्काल एक करोड महानगरपालिकाको खर्च हुने छ । थप एक करोड विभिन्न संघसंस्थासँगको सहकार्यमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना संक्रमण नियन्त्रणमा आएपछि महानगरपालिकाले आफ्नो पहिलो अस्पतालको रुपमा यो अस्पताल सञ्चालनमा ल्याउने पनि उनले बताए ।

महानगरपालिकाले बनाउँदै गरेको अस्पताललाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १, नमस्ते सामुदायिक प्रतिष्ठान लगायत विभिन्न संघसंस्थाले सघाएका छन् । अस्पतालमा आइसोलेसनमा पचास बेड, सर्जिकल सामग्री, तीनवटा भेन्टिलेटर, छवटा आइसियु बेड लगायतका सामग्री लायन्सले सहयोग गरेको लायन्सका सिनियर लिडर मोहनबाबु खड्काले बताए । कोभिड अस्पताल बनाउन लायन्स इन्टरनेशनलबाट १६ हजार डलर बराबरको स्वास्थ्य सामग्री आएको पनि उनले बताए । लायन्सले ४० लाख रुपैयाँ बराबरको आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको पनि खड्काले सुनाए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साेमबार दिएको जानकारी अनुसार २४ घण्टामा कोरोना भाइरसबाट कास्कीका १ जनासहित गण्डकी प्रदेशमा २० जनाको मृत्यु भएको छ । यसै गरी २४ घण्टामा १७३४ जनाकाे काेराेना परीक्षण गरिएकाेमा कास्कीमा २ सय ६३ जनासहित गण्डकी प्रदेशमा ७ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । हाेम हाइसाेलेसनमा ९६०७ जना बसेका छन् । ६५३ जना निकाे भाएका छन् ।