कोरोनाको खोप लगाउने कम भएपछि गाँजा, बियर र चिट्ठाको अफर


     नेचर न्युज    
     जेठ २६ गते २०७८ मा प्रकाशित


हालसालै अमेरिकाको वासिङ्टन राज्यले कोरोनाको पहिलो वा दोस्रो खोप लगाउनेले गाँजाका खिल्लीहरू निशुल्क रूपमा प्राप्त गर्न सक्ने कार्यक्रम घोषणा गरेको छ। राज्यको मदिरा तथा गाँजा बोर्डले गत सोमबार यो कार्यक्रम घोषणा गरेको हो। 

यो कार्यक्रमको घोषणासँगै कोरोनाको खोप लगाउनेको सङ्ख्यामा वृद्धि हुने अनुमान राज्यले गरेको छ। यो कार्यक्रम आगामी जुलाई १२ तारिख सम्म मात्र लागु हुनेछ। यस घोषणा अनुसार २१ वर्ष उमेर पुगेका नागरिकहरुले गाँजाको खुद्रा विक्रीका लागि तोकिएका पसलहरूबाट यो सुविधा प्राप्त गर्न सक्ने छन्। यस अगाडी यस राज्यले खोप लगाएको प्रमाणका आधारमा निःशुल्क बियर, वाइन वा अन्य ककटेल पिउन सक्ने अफर ल्याएको थियो। 

यस्तो अफर घोषणा गर्नेमा वासिङ्टन राज्य मात्रै होइन। एरिजोना राज्यले समेत गाँजामा आधारित अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरू घोषणा गरेको छ । यसका अलावा विभिन्न राज्यहरूले  निःशुल्क  बियर, कलेजको सवारी  निःशुल्क , दश लाख डलर नगद सम्मका चिट्ठा जस्ता अनेक कार्यक्रमहरू घोषणा गरेका छन्। 

अमेरिकामा गत अप्रिल महिनाको मध्येबाट कोरोनाको खोप लगाउनेको सङ्ख्यामा उल्लेख्य कमी आए पश्चात् नागरिकहरूलाई कोरोना खोप लगाउन आकर्षित गर्न विभिन्न राज्यहरूले यस्ता सुविधाहरू घोषण गरिरहेका छन्। 

अमेरिकामा गत अप्रिल महिनाको मध्येबाट कोरोनाको खोप लगाउनेको सङ्ख्यामा उल्लेख्य कमी आए पश्चात् नागरिकहरूलाई कोरोना खोप लगाउन आकर्षित गर्न विभिन्न राज्यहरूले यस्ता सुविधाहरू घोषण गरिरहेका छन्। 

ह्वाइट हाउसका भाइरस सम्बन्धी सल्लाहकार एन्डी स्लाभिटले वाइडेन प्रशासनले समेत राज्यहरूलाई सबै जनालाई भ्याक्सिन लगाउन अभिप्रेरित गर्न चिट्ठा लगायतका अन्य आर्थिक प्रोत्साहनका रचनात्मक कार्यक्रमहरू घोषणा गर्न सुझाइएको बताएको द न्यु र्योक टाइम्सले  उल्लेख गरेको छ। 

हालसम्म अमेरिकामा १७ करोड भन्दा बढीले कम्तीमा पनि कोरोनाको पहिलो खोप लगाएका छन्। यो कुल जनसङ्ख्याको ५२% हो भने १४ करोड भन्दा बढीले खोपको पूर्ण डोज लगाएका छन् । यो अमेरिकाको कुल जनसङ्ख्याको ४२% हो। 

अमेरिकाको जनसङ्ख्या ३३ करोड भन्दा बढी छ । हालसम्म ३ करोड ४० लाख मानिस कोरोना सङ्क्रमित भएका छन् भने ६ लाख १३ हजार मानिसहरूले ज्यान गुमाइ सकेका छन्।

नेपाल जस्ता अति कम विकसित देशहरूले कोरोनाको भ्याक्सिन पाउन सकिरहेका छैनन्।