
पोखरा । सर्पले टोकेर स्वासप्रश्वासमा समेत गम्भीर समस्या भएको अवस्थामा उपचारकालागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (सरकारी) पोखरामा पुर्याइएका बिरामीको उपचार नगरी अस्पतालले अर्को अस्पतालमा पठाइदिएको छ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका ८ का २७ वर्षीय विनोद विकलाई जेष्ठ २२ गते राति करिब १२ बजे घरमै सुतेको अवस्थामा सर्पले टोकेको थियो। सर्पले टोकेपछि उपचारका लागि सोही दिन (२३ गते बिहान) रातारात स्याङ्जा जिल्ला अस्पताल, गण्डकी मेडिकल अस्पताल हुँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिहान ३:१५ मा पुर्याइएको थियो।
भाइलाई बचाउन रातभर विभिन्न अस्पताल चाहारेर अन्तिम आशा र विश्वास लिई सरकारी अस्पताल पुर्याउँदा अस्पतालमा सामान्य प्रेसर जाँच गरेर यहाँ हुँदैन भन्दै मनिपाल अस्पताल जाने भनेको नाताले दाइ पर्ने बोधराजले इनेचरसँग बताएका छन्।
सुरूमा ‘जिल्ला अस्पताल स्याङ्जा’ले ‘गण्डकी अस्पताल’मा सर्पले टोकेको अवस्थामा उपचार गर्न प्रयोग हुने सर्पदंशको औषधि उपलब्ध हुने भन्दै क्षेत्रीय अस्पताल जान सुझाएको थियो l तर बाटोमै बिरामी नाजुक अवस्थामा पुगेर स्वास फेर्न समेत अप्ठ्यारो भएपछि पोखराको पृथ्वीचोक स्थित गण्डकी मेडिकल अस्पतालमा लगेको उनले सुनाए। गण्डकी मेडिकल अस्पतालले यहाँ सर्पदंशको औषधि नभएको भन्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जान सुझाएको थियो।
हतार गर्दै फेरि बिरामीलाई क्षेत्रीय अस्पताल पुर्याइएको थियो। क्षेत्रीय अस्पतालको इमरजेन्सि वार्डमा बिरामी पुर्याउँदा घडीमा बिहानको ३ बजेर १५ मिनेट गएको थियो। बिरामीलाई श्वास फेर्न पनि निकै गार्हो भएको, घ्यारघ्यार गरिरहेको र बोली पनि लटपटिएको थियो। यस्तो अवस्थाका बिरामीलाई नर्सले पहिले प्रेसर नापिन् । त्यसपछि अर्को कोठामा गएर सायद डाक्टर हुनुपर्छ उहाँसँग सर्पले टोकेको बिरामी आएको छ मनिपाल पठाउने त होला नि भनेर कुरा गरेको उनले सुनाए । यसपछि नर्ससँग कुरा गरेका मान्छेले हुन्छ-हुन्छ मनिपाल पठाइदिनु भनेपछि ‘यहाँ यसको उपचार हुँदैन मनिपाल जानोस्’ भनेको उनले सुनाए।
सर्पले टोकेर सिकिस्त अवस्थामा उपचारको आशामा अस्पताल पुर्याएको बिरामीलाई यहाँ हुँदैन भने पछि हतार-हतारमा फेरि मनिपाल कुदाउँदै लगियो। अहिले उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
मनिपालमा पनि केही समय लाग्यो l मनिपालले उपचार सुरु गरेपछि बिहान १० बजेतिर सर्पले टोकेको अवस्थामा प्रयोग गरिने औषधि सर्पदंश (एन्टिस्नेक भेनम) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा छ त्यहाँ गएर ल्याउन भनेपछि भने आफूहरु दंग परेको बताए। सर्पले टोकेको बेलामा प्रयोग गर्ने औषधि त्यहीँ भएको अवस्थामा किन हामीलाई उपचार नगरी मनिपाल पठाएको, यसको उत्तर आफूले नपाएको उनले सुनाए।
यसरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गम्भीर अवस्थाका बिरामीको उपचारमा लापारवाही गरेर आफूले उपचार गर्न सक्ने बिरामीलाई अन्यत्र पठाएको छ। गम्भीर अवस्थामा बिरामीको उपचारकालागि मिनेट मिनेट उत्तिकै महत्वपूर्ण हुन्छ। तर यसमा गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालले लापारवाही गरेको छ। मनिपालमा उपचार गराइरहेका बिनोदको अवस्था क्रमश सुधार हुँदै गएको छ। ढिलो भएकोले फोक्सोमा निकै असर गरिसकेको छl
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल के भन्छ ?
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सूचना अधिकारी नारायणप्रसाद आचार्यले सर्पले टोकेर आएका बिरामीको अवस्था निकै नाजुक भएकोले अस्पतालमा आइसियु र भेन्टिलेटर खाली नभएकोले मनिपाल डिस्चार्ज गरिएको सुनाए। कोभिड अस्पताल भएकोले त्यतिबेला कोभिडका बिरामीको चापले गर्दा आइसियु खाली नरहेको हुँदा बाध्यताले डिस्चार्ज गर्नु परेको उनले बताए । बिरामीको उपचारकालागि यहीँबाट निशुल्क पाइने सर्पले टोकेको अवस्थामा उपचारमा प्रयोग गरिने औषधि सर्पदंश (एन्टिस्नेक भेनम) उपलब्ध गराएको उनले सुनाए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरत खत्रीलाई यसबारे सर्प संरक्षण समाजका ऋषि बरालले फोन गरेर जानकारी गराएका थिए l डा. भरतले ‘कसले पठायो, यस्तो हुनु नपर्ने’ भनी अनविज्ञता प्रकट गरेl उनले थपे ‘सर्पदंस बिरामीको उपचार गरिरहेका छौँ l यसकालागि प्रयोग गरिने एन्टिभेनम पनि आवश्यकताअनुसार हामीसँग छ’ l
यस्तो घटना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पहिलोपटक भएको हो त ?
यो घटलाई नजिकबाट नियालिरहेका र पीडितलाई सहयोग गरिरहेका सर्प संरक्षण समाजका ऋषि बराल यो घटना पहिलोपटक नभएको बताएl बरालले भने ‘जुन ठाउँमा यसको औषधि छ, त्यही ठाउँबाट अरू ठाउँमा उपचारको लागि रिफर हुनु दुर्भाग्यपूर्ण हो l यस्तो घट्ना पहिला पनि भएको बताए l २ बर्ष अघि दुलेगौंडाबाट आएका एक बिरामीलाई पनि यसै गरि अन्यत्र पठाइएको थियोl यो सरकारी अस्पतालको गम्भीर लापरवाही हो l’
पोखरामा सर्प उद्दार गर्दै आइरहेका हेमजाका संरक्षणकर्मी केशव सापकोटा पनि सरकारी अस्पतालको यो रबैयाबाट दु:खि छन् l उनी भन्छन् ‘अस्पतालको निर्देशकले सर्पले टोकेको उपचार यहीँ हुन्छ भन्ने अनि इमर्जेन्सिमा काम गर्ने चिकित्सक र नर्सले मनिपाल पठाउने, यस्तो पनि हुन्छ’ l उनले थपे ’उपचार गर्न अल्छी लाग्ने, क्षमता नभएका, मानिसको जीवनलाई केही होइन जस्तो मान्नेहरूले गर्दा यस्तो भएको हो’ l
कसरी टोक्यो त सर्पले ?
बिनोद भारतको दिल्लीमा मामासँगै काम गर्दै आएका थिए। पहिलो लकडाउन हटेपछि र नेपाल, भारत आउँजाउ सहज भएपछि उनी मामासँगै नेपाल आएका थिए। घरमा हातमुख जोर्नको समस्या भएकोले असार महिनामा लकडाउन खोल्ने र फेरि भारतमै कामकालागि जाने तयारीमा उनी थिए।
२२ गते मामासँग बसेर खाना खाएपश्चात राति ११ बजेतिर उनी घरको माथिल्लो तलामा सुतेका थिए। राति एक्कासी खुट्टामा चिसो अनुभव भएर हेर्दा उनले खुट्टामै सर्प बेरिएको देखे । निन्द्रामा सर्पले टोकेको भने उनले मेसो पाएका थिएनन् । सुतिरहेको ओछ्यानमै सर्प देखेपछि उनी उठे र सर्प मारे।
केही समयपछि उनलाई अप्ठ्यारो हुँदै गयो। शरीर वरपर टोकेको त छैन भनेर हेर्दा उनको पेटको कोखामा सर्पले टोकेको घाउ देखियो । त्यसपछि उनले मामा र दाजुभाइलाई हारगुहार गरे। यसरी उनी उपचारकालागि छटपटिँदै विभिन्न अस्पताल हुँदै अहिले मनिपाल अस्पतालमा उपचाररत छन्।
उनलाई टोक्ने सर्प अति विषालु प्रजातिको, भाग्यले बाँचे?
नेपालमा हालसम्म फेला परेका ८१ प्रजातिका सर्प मध्ये १८ प्रजातिका सर्प विषालु छन् । गोमन, करेत, मुगा सर्प र रुसी भाइपर चार प्रजातिका सर्पहरू धेरे विषालु हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका प्रत्येक वर्ष ८१ हजारदेखि १ लाख ३८ हजार जनासम्मको सर्पले टोकेको कारण मृत्यु हुने गरेको बताइएको छ। त्यतिको तीनगुना मानिस जोगिए पनि शारीरिक समस्या र अपाङ्गता हुने गरेको तथ्याङ्क छ।
बिनोदलाई करेत प्रजातिको सर्पले टोकेको थियो जुन धेरे विषालु हुन्छ l उपचार नभए यो सर्पले टोक्दा ६ घण्टा भन्दा बढी बाँच्न गार्हो पर्छ तर उनको ११ घण्टापछि उपचार हुँदाखेरि पनि उनी सामान्य बन्दै गएका छन्, जुन खुसीको कुरा हो l
हेर्नुहोस पीडितले बताएका कुराहरु भिडिओमा



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…