बाढीको वितण्डा : सतर्क रहन सर्वसाधारणलाई आग्रह (भिडियो समेत)


     नेचर न्युज    
     असार १ गते २०७८ मा प्रकाशित


सोमबार देखिको लगातार वर्षाका कारण गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढीले भौतिक संरचनाहरूको क्षति गरेको छ। मनाङ जिल्लाको चामे बजारको घट्टे खोला र च्यट्टु खोलामा आएको बाढीले ६ वटा घरमा क्षति गरेको स्थानीयहरूले बताएका छन्। बाढीका कारण अन्य घरहरूसमेत जोखिममा रहेका छन्।

यी दुवै खोलामा आएको बाढीका कारण चामे बजार निकै जोखिममा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले बताए। बाढीको कारण मनाङ जिल्लामा विद्युत् र सडक अवरुद्ध हुनुका साथै विद्युत् अवरोधका कारण सञ्चार समेत विच्छेद हुने अवस्थामा पुगेको उनले बताए। 

बाढीका  कारण तिमाङ स्थित बेली ब्रिज बगाएको छ भने ताल गाउँसमेत डुबानमा परेको छ। बाढीका कारण जिउधनको क्षति नभएको भएता पनी भौतिक संरचनामा धेरै क्षति पुगेको गौतमले बताए। उच्च जोखिममा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा सार्नका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्रहरु परिचालन गरिरहेको उनले बताए। 

मुस्ताङ जिल्ला जोडने सडक समेत ठाउँ ठाउँमा आएको बाढी र पैह्रोका कारण अवरुद्ध बन्न पुगेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख ऋषि बरालले दिएको जानकारी अनुसार घरपझोङ गाउँपालिका वडा नं. २ स्थित मार्फा खोलामा आएको बाढीले सडक अवरुद्ध हुन पुगेको छ।

बेनी जोमसोम सडक खण्डको थासाङ गाउँपालिका वडा नं. ४ का कैकी खोला, लेते खोला लगायतमा आएको बाढीले सडकमा क्षति गरेको छ भने काभ्रे पहिरोले सडक समेत भासिन पुगेको छ। सडक अवरुद्ध भएका कारण ठाउँ ठाउँमा सवारी साधनहरू अलपत्र परेका छन्। मुस्ताङको घरपझोङ वडा नं. ४ र वारागुङ मुक्ति क्षेत्र वडा नं. १ को बिचमा पर्ने लुप्रा–पाण्डा खोला थुनिएर आएको बाढीले बस्ती जोखीममा परेको बरालले बताए। 

रुपन्देहीको देव दहमा चरंगे खोलामा आएको बाढीले सडक भासिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने नारायणी नदीमा समेत बहाव उच्च भएका कारण प्रशासनले सतर्क रहन आग्रह गरेको छ। 

आगामी ३ दिनसम्म काली गण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली, सुदूर पश्चिम प्रदेशको चुरे, तराई भएर बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी र अन्य तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ। 

भिडियो