डब्लुएचओ प्रमुखले मुस्ताङमा खोप तारेको भिडियो सेयर गर्दै भने यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो ?


     नेचर न्युज    
     असार ५ गते २०७८ मा प्रकाशित


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै नेपाली स्वास्थ्यकर्मीकाे प्रशंसा गरेका हुन् ।

असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लामो फलामको डन्डीकाे सहाराले खोला तारेका थिए । सामाजिकसञ्जालमा याे भिडियाे भाइरल भइरहेको थियाे । यही दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च प्रशंसा गरेका हुन् । ट्वीटमा उनले कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। भिडिओमा बाढी आएको खोलामा फलामको डन्डीकाे सहायताले खोप राखेको बाकस तार्दै गरेका स्वास्थ्यकर्मीहरुको दृश्य छ।

ट्वीटमा उनले ‘मानिसको जीवन बचाउन स्वास्थ्यकर्मी कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको लेखेका छन्। अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो?,’ डा. टेड्रोसले भनेका छन्।

मुस्ताङको लेतेमा असार १ गते कोरोना खोपको दोस्रो डोज लाउने तालिका थियो । स्थानीय स्वास्थ्यचौकीमा ६० बर्षमाथिका जेष्ठ नागरिकलाई बोलाइसकिएको थियो । तर, कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा बढेर आयो । गाडी तार्न सक्ने अवस्था नभएपछि गाडी चालक र स्वास्थ्यकर्मीले फलामको डन्डीकाे सहाराले खोप राखिएको बाकस तारे । खाेप तार्दै गरेकाे भिडियाे टुकुचेका अहेब सविन खत्रीले खिचेका थिए । सामाजिक सञ्जालमा भिडिया सेयर भने स्वास्थ्य चौकीकी अनमी एन्जिला थकालीले गरेकी थिइन्।