पोखरा ः कोरोना सङ्क्रमणका कारण करिब दुई वर्ष देखि थला परेको पर्यटन उद्योगलाई उठाउन प्रदेश प्रदेश बिच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेश र प्रदेश—२ बिच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बिहीबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै प्रदेशका मुख्यमन्त्रीहरुले पर्यटन विकासकालागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणले थला परेको पर्यटन उद्योगलाई प्रदेश प्रदेश बिच सहकार्य गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गरी उठाउनु पर्नेमा जोड दिए । पर्यटन विकासकालागि सङ्घीय सरकारले सबै प्रदेशलाई समान रूपमा साथ साथ लिएर अघि बढ्नु पर्नेमा प्रदेश नं २ लाई हेर्ने दृष्टिकोण नै सकारात्मक नभएको आफूले पाएको मुख्यमन्त्री रावतले बताए । युरोप, अमेरिका लगायतका देशका नागरिकको भन्दा पछिल्लो समयमा भारतीयहरूको धेरै खर्च गर्ने क्षमता बढेको बताउँदै भारतीय पर्यटक आकर्षण गर्ने गरी व्यवहार गर्न मुख्यमन्त्री रावतले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग मिलेर पर्यटन विकासमा अघि बढ्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारले क्षमता अनुसार सहयोग गर्ने पनि उनले सुनाए । दुई प्रदेश बिच धार्मिक, संस्कृति, प्राकृतिक सौन्दर्यताकलाई आधार बनाएर पर्यटन विकासमा सहकार्य गर्दै अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नाट्टा केन्द्रीय अध्यक्ष अच्युत गुरागाईँले सरकार करिब दुई वर्ष देखि थलो परेको पर्यटन उद्योग बचाउन सहयोग गर्नु पर्नेमा उल्टो दुःख दिने काम गरेको सुनाए । सङ्कटमा परेको समयमा पनि सरकारले नवीकरण, ट्याक्स लगायतमा जरिवाना र महँगो शुल्क लिँदै आएको बताए । कोरोना विरुद्ध दुई डोज खोप लगाएका पर्यटकलाई पनि अध्यागमनमा रोक्ने, भारतका नाकाहरूमा दुःख दिने काम भएको भन्दै पर्यटकलाई सभ्य भएर व्यवहार गर्न र अनावश्यक शुल्क लिएर दुःख नदिन उनले अनुरोध गरे ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पर्यटन विकासकालागि वीरगन्ज र पोखरा महानगरपालिका समग्र प्रदेश प्रदेश बिच सहकार्य हुनु पर्नेमा जोड दिए ।पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन विकासकालागि स्थल मार्गको स्तर उन्नति गर्नु पर्नेमा जोड दिए । हवाई यात्रा महँगो भएकोले र धेरै सङ्ख्यामा पर्यटक आउने वातावरण बनाउन सडक सञ्जाल सुविधा जनक हुनु पर्ने पनि उनले बताए ।
जनकुपुर देखि मुक्तिनाथ धार्मिक पर्यटकटीय सर्किट
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश—२ बिच दुई प्रदेशको पर्यटन विकासकालागि पाँच बूँदे अन्तर प्रदेश समझदारी गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको रोहवरमा दुई प्रदेशका नाट्टाका अध्यक्षले पर्यटन विकासकालागि दुई प्रदेश बिच सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका हुन् । समझदारीमा अन्तर प्रदेश बिच पर्यटकीय गन्तव्यको पहिचान, समृद्ध र प्रचारप्रसार बढाउने । दुवै प्रदेशका बीत सिधा हवाई सेवाको निरन्तरता साथै प्रदेश नं २ को जनकपुर देखि पोखरा सम्म थप हवाई सेवा बिस्तारमा जोड दिने ।
धार्मिक संस्कृति, पुरातात्विक संस्कृतिहरुको आदानप्रदानका साथै साहासिक खेल पर्यटनका सम्भावनाहरु बढाउने रहेको छ ।
यसै गरी जनकुपुरको जानकी मन्दिर देखि त्रिवेणीधाम हुँदै मुक्तिनाथ सम्मको धार्मिक पर्यटकीय सर्किटको प्रवर्द्धन जोड दिइएको छ । यसै गरी दुवै प्रदेशका सहकार्य क्षेत्रहरू पहिचान गरी कार्यान्वयनमा ल्याउने पनि समझदारी भएको छ । समझदारी पत्रमा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल र नाट्टा प्रदेश २ का अध्यक्ष मोहन प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।