तिहारमा पुजिने कागका १४ रोचक तथ्य!


     राजु आचार्य    
     कार्तिक १७ गते २०७८ मा प्रकाशित


कोही असाध्यै बाठा भए ‘कागको फुल चोर्ने’ भनेर सङ्केत गर्ने चलन छ। बाठा मात्रै होइनन्, हाम्रो बालीनाली नोक्सान गर्ने यिनीहरू कुख्यात समेत छन्। जस्तो सुकै वातावरणमा बस्न सक्ने यी चराहरू ‘सर्वहारा’ हुन्, अर्थात् जे पनि खान्छन्। यिनले आफ्नो क्षेत्रमा अन्य चराहरूलाई आउन दिँदैनन्। यिनीहरू समूहमा बस्छन्, एक अर्कालाई पर्दा सहयोग पनि गर्छन्। नेपालमा कागका बारेमा अध्ययन तथा अनुसन्धानहरू भएका छैनन्।

विश्वभर करिब ४० प्रजातिका कागहरू पाइन्छन्। नेपालमा तराईदेखि हिमालसम्म कम्तीमा ५ प्रजातिका कागहरू अभिलेख गरिएका छन्। यी चराहरूलाई भने हामी तिहारमा पूजा गर्छौँl घरबाट  दुख, पिडा र मृत्युलाई भगाउन तिहारको बेलामा यिनको पूजा गरिन्छ। पाँच दिनसम्म मनाइने तिहारको यमपञ्चकको बेला पहिलो दिन यिनको पूजा गरिन्छl यिनै कागहरूका केही रमाइला जानकारीl

  • यिनीहरू एक अर्कासँग वार्तालाप गर्छन् र परेका समस्याहरूलाई समाधान गर्ने क्षमता समेत राख्दछन्l यिनीहरूले प्रयोग गर्ने भाषा क्षेत्र अनुसार फरक-फरक भेटिएको छl
  • कागले मानिसको अनुहारलाई पहिचान गर्न सक्दछन्l
  • नेपालका हिमाली भेगमा पाइने भोटे काग १०-१५ वर्षसम्म बाँच्छन् भने अस्ट्रेलियामा पाइने ठूलो प्रजातिको काग २२ वर्षसम्म बाँचेको अभिलेख गरिएको छ।
  • काग मर्दा अन्य कागहरू जम्मा हुन्छन्। ठूलो ठूलो स्वरमा कराउँछन्l  मरेको कागलाई छुँदैनन्l उनीहरू सो क्षेत्रमा भविष्यमा कुनै जोखिम त छैन भनेर सोही बेला विचार विमर्श समेत गर्दछन्।
  • केही अपवाद बाहेक कागहरूले एउटा प्रिय प्रियतमासँगै पुरै  जीवन बिताउने गर्दछन्l बच्चाहरूलाई समूहमा हुर्काउने गर्दछन्। यस्तो बेला एक वर्ष अगाडिका बच्चाहरूले समेत सहयोग गर्दछन्।
  • ‘निहुँ केलेड़ोनिएन काग’ पुरानो प्रविधिहरू परिमार्जन गर्न, नयाँ बनाउन तथा आगामी पुस्ताहरूलाई सो प्रविधि हस्तान्तरण गर्न मानिस पछि सबैभन्दा बुद्धिमान ठानिन्छन्।
  • कागले २५० थरी सम्मका आवाजहरू निकाल्न सक्छl
  • तालिम प्राप्त ‘जिम्मी’ नामको कागले सन् १९३४ देखि १९५४ सम्मको अवधिमा १००० वटा चलचित्रमा काम गरेको थियो। यो कागले टाइप गर्ने, चिठी खोल्ने र साना खेलौना जस्ता मोटरसाइकल चढ्ने गर्दथ्यो।
  • जापान, चीन र कोरियामा तीन खुट्टे कागबारेका थुप्रै किम्बदन्ती रहिआएका छन्l
  • कागको समूहलाई ‘ज्यानमारा’ समेत भनिने गरिन्छ। यिनीहरूले  कहिलेकाहीँ घाइते वा बिरामी कागहरू भेटे भने समूहमा गएर ठुँगेर मारी दिन्छन्।
  • खेतीपाती नोक्सान गर्‍यो वा गर्न लग्यो भने स्वीकृति बिना अमेरिकामा काग मार्न पाइन्छl
  • यिनले किरा फट्याङ्ग्रा, चराहरू, अण्डा, स्तनधारी, फालिएका खानाहरू गरी करिब एक हजार थरीका खाना खाने गर्दछन्। एउटा कागले तीन घण्टामा १०० वटासम्म फट्याङ्ग्रा खाएको अभिलेख गरिएको छl
  • मेक्सिकोमा पाइने ‘डोर्फ जे’ नामक कागको तौल ४० ग्राम र लम्बाई २१.५ सेमी हुन्छ। संसारमा पाइने कागहरू मध्ये यो सबैभन्दा सानो हो। इथियोपिया तथा नेपालका हिमाली भूभागतिर पाइने कागहरू ठूला मध्ये पर्दछन्। यिनीहरूको तौल डेढ किलोसम्म र लम्बाई ६५ सेमीसम्म हुन्छ।
  • सपनामा खैरो रङ्गको काग देखे ‘सङ्घर्ष गरेर पनि असफल हुने’ र  सेतो देखे ‘ शुभ हुने’ विश्वास गरिन्छ।

(यो लेख पहिलोपोष्टबाट साभार गरिएको हो )

Facebook Notice for EU! You need to login to view and post FB Comments!