भू–उपयोग नीति कार्यान्वयन नहुँदाको दुःख : खेतमा बनेका हेमजका घर डुबानमा


     नेचर न्युज    
     असार ११ गते २०७९ मा प्रकाशित


सरकारले राज्यको प्रमुख स्रोतको रुपमा रहेका सिमित भूमिको उपयोग र व्यवस्थापन गर्ने भन्दै भू–उपयोग नीतिको तर्जुमा ग¥यो । नीतिको अभावमा भूमिको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई भूमिको उपयोग र नियन्त्रण राज्यको आवश्यकता अनुसार गर्न सकिँदैन भन्दै यो नीति ल्याएको हो । 

भू–उपयोग नीतिको आधारमा नै राज्यले यस सम्बन्धी कानुन, योजना तथा कार्यक्रमहरू तर्जुमा एवं कार्यान्वयन गर्ने र नीति कार्यान्वयनमा देखा पर्न सक्ने समस्याहरूको समाधानका उपायहरूको खोज गर्ने बताइएको छ । यसै गरी भूमिमाथिको पहुँचलाई समतामूलक बनाउन र वातावरणीय सन्तुलन कायम गरी दिगो विकास हासिल गर्न तथा भूमि स्रोतबाट प्राप्त हुने लाभलाई न्यायोचित ढङ्गबाट वितरण हुन सक्ने अवस्थाको सिर्जना गर्न समेत भू–उपयोग नीतिको आवश्यकता पर्ने राष्ट्रिय भू–उपयोग नीति २०६८ मा उल्लेख छ । 

अधिकांश नेपाली जनताको जीवनयापनको प्रमुख आधार कृषि हो । देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ३३ प्रतिशत योगदान कृषि क्षेत्र नै हो । यसैले भूमि तथा भूमि स्रोतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर भू–उपयोग नीति पटक पटक कार्यान्वयन गर्ने भन्दै आए पनि कागजमै सिमित रहँदा शनिबार राति परेको अविरल वर्षाको कारण पोखरा महानगरपालिकाको २५ हेमजाको सुइँखेत फाँटका घरहरू डुबानमा परेका छन् । सुइँखेत फाँट सिमसार क्षेत्र हो । यहाँ ७÷८ वर्ष अघि सम्म पनि राम्रो धान झुल्थ्यो । पोखरा बागलुङ सडक यही खेतको मध्य भाग भएर बनेको छ ।

डुबानमा परेको पोखरा २५ हेमजाको सुइँखेत बस्ती ।

पछिल्लो समयमा यो बाटो चाक्लो भएर ६ लेनको बनेको छ । यसै त दलदल सिम खेत त्यसैमा बस्ती बस्नु र ६ लेनको बाटो बन्दा पानीको मार्ग पनि व्यवस्थित नहुँदा पनि थप समस्या हुँदै आएको हो । असार महिनामा पानी परेपछि यहाँको खेतमा मुल पलाउने गर्दछ । यसै त यस फाँटमा मुल रसाइरहेको बेला ठूलो  वर्षाको कारण खेतमै बनेको नयाँ बस्ती डुवानमा परेको हो । अविरल परेको मुसलधारे वर्षाका कारण हेमजाको सुइँखेत फाँटका ६ सय घर प्रभावित भएको पोखरा २५ का वडा अध्यक्ष मोतीराम तिमिल्सिनाले बताएका छन् । घर गोठ र कृषि फर्महरु बाढीको डुबानमा परेका छन् । राति ११ बजे नै बस्तीका घरहरू डुबानमा पर्दा स्थानीय भागाभाग गर्नु परेको थियो । वरिपरिका डाँडाबाट पहिरो समेत खस्दा थप समस्या परेको छ ।

राज्यले आफैले तयार पारेको नीति कार्यान्वयन नहुँदा देशभरका नागरिकले हेमजाका नागरिकले जस्तै दुःख पाउँदै आएका छन् । बर्सेनि सयौँ नागरिकले ज्यान गुमाएका छन् । आर्थिक समस्या झेल्दै आएका छन् । घरबार विहीन हुनु परेको छ । सामाजिक अभियन्ता विश्व सिग्देल यो कथा र व्यथा हेमजाको मात्र नभएर देशकै समस्या रहेको बताउँछन् । भूमाफियाहरुले खोला घर, किनार कान्ला मिचेर प्लटिङ गरी बिक्री गर्दा यस्ता समस्या आएको समाजिक सञ्जालमा सिग्देलले लेखेका छन् । तिनै भूमाफियाहरुले नेताहरु पाल्छन, सुख सुविधा जुटाउँछन, चुनाव खर्च दिन्छन् उनिले लेखेका छन् । यस्तै अवस्था रहे यस्ता मानव निर्मित क्रियाकलापले पोखरा जलाम्य हुने अवस्था आउने सिग्देल बताउँछन् । भू–उपयोग नीति कार्यान्वयन नहुँदा यो समस्या आएको सामाजिक अभियन्ता भानु पराजुलीले समाजिक सञ्जालमा लेखेका छन् । भू–उपयोग नीति छिटो कार्यान्वयन होस उनि भन्छन् । 

तस्बिरहरु : विश्व अधिकारी, एकराज गिरीको र सामाजिक सञ्जालबाट लिइएको हो ।