गण्डकी प्रज्ञा उत्सव : साहित्य कला क्षेत्रका पाँच जना सम्मानित


     नेचर न्युज    
     असार १३ गते २०७९ मा प्रकाशित


गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समर्पण गरिएको हो ।

जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिएको हो ।

उहाँहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान सर्मपण गरे । प्रज्ञा उत्सवमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा कलाकारहरु राजु परियार, राजु गुरुङ, पार्वती जि.सी., कर्णदास, रामभक्त जोजिज, बुद्धिमान दुरा “धम्पु” समूहको ठाडो भाका र हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुती रहेको थियो । उनीहरुको प्रस्तुतीमा दर्शक रमाए । यसैगरी राज बहादुर गुरुङ, सन्तोष बस्याल, प्रिया गुरुङ, उषा गुरुङले समेत प्रस्तुती राखे । कवि रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, प्राञ्जल र कपिल शर्माका मुक्तकले समेत माहोल तातेको थियो ।
यसका अलावा विभिन्न समुदायको झाँकी, लोक धुन, लोक नृत्य समेत कार्यक्रमको आर्कषणको रुपमा रहेको थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भानु हलमा भएको समापन समारोहमा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा प्राज्ञ प्रजापति पराजुली, प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले बोलेका थिए । असार ९ गतेबाट सुरु भएको तीन दिने गण्डकी प्रज्ञा उत्सव अवधिभर पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीको तर्फबाट विज्ञान तथा प्रविधि प्रदर्शन समेत गरिएको थियो । आर्ट कार्यशाला तथा नाटक मञ्चन कार्यक्रमले समेत धेरैको ध्यान खिचेको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!