
जन्मदिन अर्थात् जन्म तिथि, जन्म दिवस, वर्ष प्रवेश, वर्ष वृद्धि भन्ने बुझिन्छ । जन्मदिन सबैकालागि महत्वपूर्ण हुन्छ । पछिल्लो समयमा नेपाली संस्कृति, परम्परा अनुसार जन्मदिन मनाउने भन्दा पनि पश्चिमा संस्कृतिमा रमाउने क्रम बढ्दो छ ।
जन्मदिनमा आप्नो गच्छे भन्दा बढी खर्च गरी होटेल, रेस्टुरेन्टमा केक काटेर मदिरा सेवनगरी हल्लाखल्ला गरेर मनाउने चलन बढेको हो । यस्तो चलन बढीरहेको समयमा एक चिकित्सकले फरक ढङ्गले आप्नो छोराको जन्मदिन मनाउँदै आएका छन् । पाटन मानसिक अस्पतालका मेडिकल अधिकृत डा ईश्वरी खनालले विगत चार वर्ष देखि आफ्ना छोराको जन्मदिन बिरुवा रोपेर मनाउँदै आएका हुन् ।
यसै क्रममा डा खनालले आप्नो छोराको चौथो जन्मदिन काठमाण्डौको नागार्जुन नगरपालिकामा रहेको रानीवन पार्कमा यो वर्ष श्रीमती र छोरासँग बिरुवा रोपेर मनाए । उनले बिरुवा रोपण पछि नागभुषण मन्दिरका भक्तजनहरूको स्वास्थ्य परीक्षण पनि गरे । उनले पचास भन्दा बढी भक्तजनको नि :सुल्क स्वास्थ्य परीक्षणको साथै फलफूल पनि वितरण गरेका थिए । काठमाण्डौमा बिरुवा लगाउन त्यति सहज भने छैन । उनले पार्कमा बिरुवा रोपेर यो अभियानलाई निरन्तरता दिइरहेका छन् ।
काठमाण्डौं कंक्रिट जंगलमा परिणत हुँदै गएको छ । यसैले यहाँ हरियालिकालागि बिरुवा रोप्नु पर्छ तर खाली जमिनको समस्या छ । भएका खालि ठाउँमा पनि रोपेको बिरुवा सुरक्षित हुने अवस्था नरहेकोले बिरुवा रोप्ने स्थानको अभाव भएको उनले सुनाए । कुनै वर्ष ठाउँ अभावको रुपमा जन्मदिनमा गमलामा रोपेको बिरुवा दाङमा रहेको आफ्नो घरमा समेत पठाउनु परेको उनले बताए । आफूले रोपेको बिरुवा हुर्कँदै जाँदा परिवारलाई नै बेग्लै आनन्दको अनुभूत हुने उनले सुनाए ।
बिरुवालाई मलजल गर्ने, गोडमेल गर्ने गर्दा बच्चालाई पनि सानै देखि बोटबिरुवाको वातावरणीय महत्त्वको बारेमा जानकारी मिल्न छ । वातावरण संरक्षण पछिल्लो पेचिलो विषय हो । हामी छोराछोरीको भविष्यका लागि जसरी सम्पत्ति सुरक्षित गरिदिन्छौ त्यसै गरी उनीहरू बाँच्ने वातावरण र प्रकृति जोगाइदिने दायित्व पनि हाम्रो दायित्व रहेकोले छोराको जन्मदिन बिरुवा रोपेर मनाउने गरेको डा खनालले सुनाए ।
प्रकृति र वातावरण जोगाउन बालबालिकालाई घरबाटै सिकाउनु पर्ने उनको तर्क छ । अझ स्थानीय तह, सामुदायिक वनले कुनै निश्चित ठाउँ बिरुवा रोप्न छुट्याइ दिए यस्तो अभियान अझै सहज हुने उनले सुनाए । यसरी छुट्याइएका पार्क, वनमा जन्मदिन वा यस्तै अन्य विशेष दिन पारेर रोपेका बिरुवा फूर्सदको समयमा गोडमेल समेत गर्ने वातावरण भयो भने झन् कति राम्रो हुन्थ्यो ।