विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि तालिम


     नेचर न्युज    
     मंसिर २० गते २०८० मा प्रकाशित


वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिने उद्देश्यले स्याङ्जाको पुतली बजारमा विद्यार्थीहरुकालागि वन्यजन्तु अनुसन्धान विधि तालिम भइरहेको छ ।

नेपालमा वन्यजन्तु र तिनको वासस्थानको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ताको निर्माण गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले विगत एक दशक देखि वार्षिक रुपमा सञ्चालन गर्ने ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ दिइएको हो । स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका २, भैंसेगौंडा सामुदायिक होम स्टेमा विद्यार्थीहरूले तालिम लिइरहेका छन् ।  

नेपालको वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यवहारिक ज्ञानको निकै आवश्यक भइरहे बेलामा प्रकृतिका साथीहरू संस्थाले वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको हो ।  अहिले सम्म १६७ जनाले यो तालिम लिई सकेको  र गत वर्ष गरिएको सर्वेक्षणमा करिव ८० प्रतिशत सहभागिले यो तालिम तिनको व्यक्तिगत र ब्यबसायिक जीवनमा सहयोगी भएको बताएका छन् । 

सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक विधिबाट वन्यजन्तु र वनस्पतिको पहिचान, अनुगमन र वैज्ञानिक तथ्याङ्क  सङ्कलन तथा प्रकाशनका साथै प्रभावकारी  संरक्षण सचेतना अभियान सञ्चालन बारे समेत सम्बन्धित विषयका विज्ञबाट प्रशिक्षण दिने गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए । 

वरिष्ठ वन्यजन्तुविद्  प्राध्यापक करण बहादुर शाह, वन्यजन्तु विज्ञ राजु आचार्य, पन्छी विज्ञ कृष्ण भुसाल, पुतली विज्ञ सुरेन्द्र परियार लगायतका  विज्ञले तालिम स्थलमै पुगेर प्रयोगात्मक प्रशिक्षण दिएका छन् । अन्य विज्ञ, वैज्ञानिक अनुसन्धानकर्मीहरू सँग अनलाइन कक्षा पनि भइरहेको बताइएको छ । तालिममा विभिन्न विश्व विद्यालयमा स्नातक र स्नातकोत्तर अध्ययनरन १३ जना विद्यार्थीको सहभागीता रहेको छ ।