विश्व स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु


     नेचर न्युज    
     मंसिर २० गते २०८० मा प्रकाशित


विश्व स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरु भएको हो । यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रूतरूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी रहेको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणालीको, वन्यजन्तु तथा घरपालुवा जनावरको र मानिसको स्वास्थ्यबीचको अन्तरनिर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि ‘वान हेल्थ’ मार्फत गरिने उल्लेख छ । स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सा स्वरूप यस साझेदारीले सन् २०२५ सम्म ५० वटा देशमा प्राविधिक क्षमता अभिवृद्धि गर्ने अमेरिकी प्रयासहरूलाई अघि बढाउने दूतावासले जनाएको छ ।

‘कोभिड–१९ को महामारी कुनै नयाँ पशुजन्य रोगको जीवाणुले मानव स्वास्थ्य र विश्वका अर्थतन्त्रहरूमा पुर्‍याउन सक्ने हानिका बारेमा कडा चेतावनी दिएको बताइएको छ । कोभिड १९ महामारीले स्वास्थ्यसम्बन्धी खतराहरू अझ राम्ररी पहिचान तथा नियन्त्रण गर्न र विश्व स्वास्थ्य सुरक्षालाई पूर्णत: साकार पार्न हाम्रा विश्व स्वास्थ्य प्रणालीहरू कहाँ र कसरी सुधार हुनु आवश्यक छ भन्ने उजागर गरेको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यूएसएआईडीको विश्व स्वास्थ्य सुरक्षा कार्यले रोगजन्य खतराहरूले महामारीको रूप लिनु अगावै तिनलाई रोक्ने, रोग पत्ता लगाउने र तीविरुद्ध लड्ने देशहरूको क्षमतालाई सुदृढ गरी उक्त कमी पूरा गर्न मद्दत गर्नु रहेको बताइएको छ । साथै देशहरूले राष्ट्रिय तहमा रहेका कमी तथा प्राथमिकताहरूलाई सम्बोधन गर्न सकुन् भन्ने ध्येयले विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीसम्बद्ध लक्ष्यहरूलाई अघि बढाउँदै पनि आएको जनाइएको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा ‘वान हेल्थ’ प्लेटफर्म र निगरानी प्रणालीहरूलाई सुदृढ बनाउन यूएसएआईडीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोष उपलब्ध गराउने उल्लेख छ । यूएसएआईडीले संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्ने बताइएको छ । विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको लागि आगामी तीन वर्षमा यूएसएआईडीले करिब ८९ करोड रुपैयाँसम्म उपलब्ध गराउने उल्लेख छ । दूतावासका अनुसार उक्त रकम कोषको उपलब्धतामा निर्भर हुने पनि बताइएको छ ।

नेपाल भ्रमणमा रहेका यूएसएआईडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा अग्रगामी कदम रहेको बताए । यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति यूएसएआईडीको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए । उनले नेपालको आवश्यकता र चाहनाअनुसार यूएसएआईडीले सहयोग गर्ने बताएका छन् ।