सुरज सरको सम्झनामा स्मृति सभा


     नेचर न्युज    
     पौष १८ गते २०८० मा प्रकाशित


पोखरा : अन्नपूर्ण माध्यामिक विद्यालय सिक्लेसका पूर्व प्रधानध्यापक सुरज कुमार गुरुङको सम्झनामा मंगलबार स्मृति सभा गरिएको छ । २०७९ पुस १७ गते आफ्नै घरमा आगलागीमा परि मृत्यु भएका गुरुङको स्मृतिमा स्मृति सभा गरिएको हो ।

कार्यक्रममा मादी गाउँपालिका १ का संस्थापक वडा अध्यक्ष समेत रहेका अन्नपूर्ण माविका पूर्व प्रधानध्यापक गुरुङले सामाजिक क्षेत्र र शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको योगदानका विषयमा चर्चा गरिएको थियो । गुरुङ लालीगुराँस छात्रवृत्ति कोषका संस्थापक हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा भएको स्मृति सभामा प्रधानध्यापक शंकर खनाल र सहायक प्रधानध्यापक गेहेन्द्र गुरुङले सुरज सरले शिक्षा र समाज विकासमा पुर्‍याउनु भएको योगदानको चर्चा गरेका थिए । 

सुरज सरको सम्झनामा सुरज कुमार गुरुङ स्मृति कोष स्थापना भएको छ । स्मृति कोषले सुरज सर बारे पुस्तक प्रकाशन गर्दै छ । यसको साथै अन्नपूर्ण माविमा शैक्षिक गुणस्तर सुधारगर्न, विज्ञान प्रयोगशालामा आवश्यक सामाग्री र जीवन उपयोगी शिक्षामा सहयोग पुर्‍याउने लक्ष्य लिएको डा हुम गुरुङले जानकारी दिए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङ ।

सुरज सरको नाम र उहाँले समाजमा पुर्‍याउनु भएको योगदान स्मरणीय राखिराख्न सुरज कुमार गुरुङ स्मृति कोष स्थापना गरिएको हो । हाल सम्म कोषमा २३ लाख ९ हजार ४ सय ८१ रुपैयाँ जम्मा भएको विद्यालयका सहायक प्रधानध्यापक गेहेन्द्र गुरुङले जानकारी दिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सुरज सरका परिवार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीले सुरज सरको सम्झना एक मिनेट मौनधारण गर्नुको साथै उहाँको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।