
पृथ्वीमा करोडौँ जीव छन् । ती सबै आफ्नो अस्थित्व कायम गर्न सङ्घर्षरत छन् । मानिस पृथ्वीको एउटा यस्तो प्राणी हो जसले आफू बाँच्न धेरै जीवहरूको विनाश गर्दै आएको छ । मानिसका व्यवहारका कारण पृथ्वीबाट कति जीवहरू हराए होलान् भन्ने अनुमान पनि लगाउन सकिँदैन । मान्छेका व्यवहारका कारण पानीका स्रोतहरू सुक्दै, फोहर हुँदै गएका छन् ।
सजीव प्राणीकालागि सबैभन्दा पहिला आवश्यक पर्ने पानी मात्र होइन शुद्ध हावा, तापक्रम सबैमा मानिसका व्यवहारका कारण बढोत्तरी हुँदै गएको विभिन्न वैज्ञानिकहरूले अध्ययनबाट पत्ता लगाएका छन् । यसको प्रभाव नेपालमा पनि छ । नेपालका वन्यजन्तु, चरा, जीवहरूमा पनि परेको छ । मानिसका व्यवहारका कारण चराको अस्थित्व सङ्कटमा पर्नु हुँदैन । चरा, वन्यजन्तु संरक्षणको सन्देश दिन यसै महिना पर्वतको लेकफाँटमा ११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील उत्सव सम्पन्न भएको छ ।
यसै गरी नवलपुरको कावासोती नगरपालिकामा तीन दिने दोस्रो नेपाल चरा उत्सवको गरिएको छ । देश भर हुने विभिन्न व्यापारिक महोत्सव भन्दा भिन्न मानिसका जीवनमा नभै नहुने अन्य जीवको संरक्षणका लागि भएका संरक्षण उत्सवको जति प्रशंसा गरेपनि कम हुन्छ । लाटोकोसेरो तथा हुचील उत्सवको आयोजक प्रकृतिका साथीहरु र नेपाल चरा उत्सवका आयोजक संस्था पोखरा पंक्षी समाज धन्यवादका पात्र छन् । यस्ता संरक्षण अभियान देशैभर चल्नु पर्छ । अन्य जीवको अस्थित्व विना मानिसको मात्र अस्थित्व सम्भव छैन भन्ने सन्देश देशै भर दिनु पर्छ ।
पर्वतमा भएको उत्सवमा स्थानीयले लाटोकोसेरो मन्छेकालागि यति धेरै उपयोगी चरा हो भन्ने थाहा नै नभएकोले संरक्षणमा वास्ता नभएको अव भने संरक्षणमा लाग्ने प्रतिबद्धता जनाएका छन् यता नवलपुरमा भएको चरा उत्सवमा प्लास्टिकको प्रयोग नभई नै सम्पन्न भएको छ । स्टलहरू पनि प्रकृतिमैत्री मैत्री बनाइएको थियो ।
यसले विश्वभर बढ्दै गएको प्लास्टिक प्रदूषण नियन्त्रण गर्न एउटा सानो ठाउँबाट सन्देश गएको छ । यस्ता खालका सन्देश मूलक कार्यक्रममा चरा, वन्यजन्तु संरक्षणका कुरा मात्र नभएर मान्छेले दैनिक गर्ने क्रियाकलापले प्रकृतिमा पर्दै गएका असरको व्यवहारिक ज्ञान दिदै नियन्त्रण गर्नु निकै प्रभावकारी रहन्छ । यसका लागि दुवै आयोजक संस्था र सहयोगीहरू धन्यवादका पात्र छन्