गण्डकी प्रदेशमा सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि खटिए स्वयंसेवक


     नेचर न्युज    
     असार ४ गते २०८१ मा प्रकाशित


पोखरा : गण्डकी प्रदेशमा सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि विभिन्न उद्योग, फर्ममा आइतबार देखि स्वयंसेवक खटिएका छन् । प्रदेशका विभिन्न उद्योग, कलकारखानामा कति जनशक्ति अध्ययन गरेर सीप सिकेर वा तालीम लिएर काम गरिरहेका छन् र कति अनुभवका आधारमा मात्र काम गरिरहेका जनशक्ति छन् भन्ने तथ्याङ्क राख्न स्वयंसेवक खटिएका हुन् ।

गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तथ्याङ्क राख्न लागेको हो । यसरी तथ्याङ्क सङ्कलन गरेपछि बिना अध्ययन र तालिम नलिई कन अनुभवका आधारमा काम गरिरहेका जनशक्तिको सीप परीक्षण गरेर त्यसै अनुसार तालिम र प्रमाण पत्र प्रदान गर्ने उद्देश्यले सीप परीक्षणका नयाँ क्षेत्र पहिचान गर्न लागिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सदस्य सचिव तोयनाथ लम्सालले बताए । गण्डकी प्रदेशमा सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि २५ जना स्वयंसेवक खटिएका छन् ।

यसरी टिएका स्वयंसेवकहरुले असार १२ गते भित्र तथ्याङ्क सङ्कलन गरेर बुझाउनु पर्ने छ । यही तथ्याङ्कका आधारमा प्रदेशले सीप परीक्षणका नयाँ क्षेत्र पहिचान गर्ने सदस्य सचिव लम्सालले बताए ।दक्ष जनशक्ति हुँदा हुँदै पनि अनुभव र तालिम बिना नै काम गरिरहेकाले सस्तोमा काम गर्दा दक्ष जनशक्ति रोजगारबाट विमुख हुन परेको र कामको रिजल्ट पनि राम्रो नआउने भएकोले सरकारले सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि यो कार्यक्रम ल्याएको सीप परीक्षणका नयाँ क्षेत्र पहिचान समितिका संयोजक सोमनाथ सापकोटाले बताए ।

सरकारले राख्ने तथ्याङ्कमा तलमाथि हुनुहुँदैन यसैले स्वयंसेवकहरुले फिल्डमै गएर यथार्थ तथ्याङ्क ल्याउन पनि उनले अनुरोध गरे । यसरी आएको तथ्याङ्कका आधारमा सरकारले जुनसुकै पद्धतिबाट हासिल गरेको सीपलाई परीक्षण गरी दक्षता परीक्षण गरी दक्षता अनुसारको तहगत प्रमाणपत्र प्राप्त गर्नु रहेको बताइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न प्रकारका औपचारिक रुपमा लामो अवधिको तथा अनौपचारिक अनौपचारिक र अन्य तरिकाबाट हासिल गरेका सीपको राष्ट्रिय मापदण्ड अनुसार राष्ट्रिय सीप परीक्षण समिति बाट परीक्षण गरी सीपको तहगत प्रमाणीकरण गर्ने र प्रमाण पत्र उपलब्ध गराउने गर्दछ ।