मनसुन भित्रिए संगै २८ जनाको मृत्यु


     नेचर न्युज    
     असार १४ गते २०८१ मा प्रकाशित


नेपालमा मनसुन भित्रिए संगै मनसुनजन्य विपद्बाट २८ जनाको मृत्यु भएको छ । जेठ २८ देखि असार १२ गतेसम्म मनसुनजन्य विपद्बाट २८ जनाको ज्यान गएको हो ।

 गृह मन्त्रालयको तथ्याङ्कअनुसार मनसुनजन्य विपद्बाट अहिले सम्म ३३ जिल्ला प्रभावित भएका छन् भने १४७ वटा मनसुनजन्य घटना भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २५ घर पूर्ण क्षति र १० घरमा पहिरोले आंशिक क्षति पु¥याएको छ ।

पहिरोको कारण कास्कीमा दुई जना बालबालिकाको मृत्यु भएको छ । सङ्खुवासभामा एक ताप्लेजुङमा पाँच, ओखलढुङ्गामा एक, लमजुङमा पाँच जनाको मृत्यु भएको छ । पहिरोबाट ६९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मनसुन भित्रिए संगै चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४जना घाइते भएका छन् । चट्याङका कारण भौतिक क्षति पनि भएको छ । यसै गरी बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ । सप्तरीमा दुई जना घाइते भएका छन् ।

हरेक वर्षा याममा मनसुनजन्य विपद् भइरहन्छ । यस्ता मनसुनजन्य विपद् न्यूनिकरणकालागि सरकारले पहिले नै तयारी गर्नु पर्छ । खोला, नदी वरपरका बस्ती स्थानान्तरण गर्नु पर्ने हो । तर यसो हुन नसक्दा वर्षेनि ठूलो धनजनको क्षति हुने गरेको छ । यसै गरी पहाडी क्षेत्रका कमजोर भू बनोट भएका क्षेत्रका बस्ती पहिचान गरी स्थानान्तरण गर्नु पर्ने हो त्यसो नहुँदा पनि वर्षे नि धेरैको ज्यान जाने र धनको क्षति हुने गरेको छ । कहाँ बस्ती बसाल्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग चलाउने, कहाँ व्यवसाय गर्ने भन्ने योजना अहिले सम्म देशको कुनै पनि सहरमा नहुँदा विपद् जन्य घटना वर्षे नि बढ्दै गएका छन् । कृषि भूमि मासिएका छन् । जनधनको क्षति मात्र होइन देश परनिर्भरता तर्फ पनि बढ्दै गएको छ ।