एसइई नतिजा : एकै विद्यालयका १० जनाले ल्याए ४ जिपिए


     नेचर न्युज    
     असार १४ गते २०८१ मा प्रकाशित


एसइई नतिजा एकै विद्यालयका १० जनाले ल्याए ४ जिपिए पोखराको मदरल्याण्ड माविका १० विद्यार्थीले ल्याए ४ जिपिएपोखरा ः माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखराको मासबार स्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले ४ जिपिए ल्याएकोमा पोखराको मदरल्याण्ड माविका दश विद्यार्थी पनि सामेल छन् । अहिले सम्मको नतिजामा एउटै विद्यालयबाट दश जिपिए ल्याउने विद्यालयमा मदरल्याण्ड मावि मात्र रहेको बताइएको छ । मदरल्याण्ड माविका कृपा बराल, रेडियस पोखरेल, कनक अधिकारी, अपेक्षा ढुंङ्गाना, आशीष बास्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, मुनिका ढकाल र समीक्षा पहारीले ४ जिपिए ल्याएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।

 गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि ४ जिपिए ल्याएका थिए । त्यसबेला कास्कीबाट मात्र ३ जनाको ४ जिपिए आएको थियो ।२०७५ सालको एसइईमा यहाँबाट ७ जनासम्म विद्यार्थीको ४ जिपिए आएको थियो । त्यसयता सबैभन्दा धेरै १० जनाको यसपालि ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण बराले बताए ।

मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँका ३ जना विद्यार्थीले नेपाल टप गरेका थिए । व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३।९६ जिपिए ल्याएपछि विद्यालयले उनीहरूलाई जनही २ लाखसहित पुरस्कृत गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।एसइईमा नेपालभरबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । ५२।१४ प्रतिशत परीक्षार्थी ननग्रेड ९एनजी० अर्थात् फेल भएको बोर्डले जनाएको छ।विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ ।

‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । एसइई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।कास्कीमा ९ हजार ९ सय ८० जनाले एसइई दिएकोमा २१ जनाले ४ जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले बताए । कास्कीमा ९ हजार ९ सय ८० जना एसइईमा सहभागी भएकोमा ७७.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।