
बाढी पहिरोको कारण स्याङ्जा जिल्लामा एक सातामा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कमजोर भू बनोट भएका पहाडी क्षेत्रका बस्तीमा वर्षेनी मनसुनजन्य विपद्का घटना घट्दै आएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा जिल्ला उच्च जोखिममा रहेको अधिकारीहरुले बताएका छन् ।
अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष स्याङ्जामा अत्याधिक वर्षा भएको छ । वर्षा सुरु भएसँगै जिल्लामा मानवीय एवं भौतिक क्षतिका घट्ना वृद्धि भएका छन् । बाढी र पहिरोमा परेर ज्यान जानेमा बिरुवा गाउँपालिकामा ३ जना, फेदीखोला गाउँपालिका २, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिकामा १ जना र भीरकोट नगरपालिकामा दुई जना रहेका छन् । पहिरोमा परेर बिरवा गाउँपालिकाका ५ जना र आँधीखोला गाउँपालिकाका २ जना घाइते भएका छन् । भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला गाउँपालिकाका बस्ती ने जोखिममा रहेको अधिकारीले बताएका छन् । गाउँका धेरै घरहरु बाढी पहिरोको चपेटामा परेका छन् ।
विपद व्यवास्थापन समितिको बैठकमा सहभागीहरुले विपदबाट धनजनमा पुगेको क्षतिका बारेमा जानकारी गराएका थिए । स्याङ्जा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पोडेलले मानवीय क्षतिको साथै ६ वटा घर पूर्ण रुपमा नष्ट भएको र ५ वटा घर जोखिममा रहेको जानकारी गराएका छन् । उनले विपद्को यो बेलामा सबै मिलेर उद्धारमा जुट्न अनुरोध गरे ।