पर्यटन प्रवर्द्धनका गर्न डुलुवा टोली कास्की देखि कन्याकुमारी यात्रामा


     नेचर न्युज    
     श्रावण १८ गते २०८१ मा प्रकाशित


पोखरा : भारतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन गर्न डुलुवा टोली बिहीबार पोखरा (कास्की) बाट कन्याकुमारी सम्मको यात्रामा निस्केका छन् । पोखराका पर्यटन व्यवसायीको टोली पोखरा, रक्सौल, पटना, कोलकाता, चेन्नेई, रामेश्वरम, कन्याकुमारी, गोवा, मुम्बई, अहमदाबाद, जयपुर दिल्ली लगायतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन गर्ने गरी यात्रामा हिडेको डुलुवा टोलीका टिम लिडर योगेश भट्टराईले बताए ।

१९ जना सहभागी टोलीले भारतको विभिन्न सहरमा पुगेर पोखरा  र नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिँदै नेपाल भ्रमणकालागि आमन्त्रण गर्ने कार्यक्रम रहेको टोलीका संयोजक भट्टराईले बताए । पहिलो देश अनि विदेश भन्ने नाराका साथ नेपालका ७० जिल्लाको भ्रमण गरेर वृत्तचित्र समेत बनाएर पर्यटन प्रवर्द्धन गरेको डुलुवा टोली नेपालमा भारतीय पर्यटकको आकर्षण गर्ने गरी यात्रामा निस्केको हो ।

डुलुवा टोलीलाई नेपाल र भारतको झण्डा दिएर विदाई गर्दै पोखरा महानरपालिकाका मेयर धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल ।

सन् २००८ मा प्याराग्लाइडिङ लगायत विभिन्न पर्यटन व्यवसायमा आबद्ध पोखराका युवाहरूले अनौपचारिक रुपमा नेपाल घुम्न थालेका थिए । १५ वर्षको नेपाल भ्रमण गरेको डुलुवा टोली नेपालको पर्यटन प्रवर्द्धन गर्दै भारतका विभिन्न सहरमा जान थालेको हो । डुलुवा टोलीको बिदाइ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासकालागि यस्ता प्रवर्द्धनात्मक कार्यक्रम महत्त्वपूर्ण रहने बताए । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेलले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमले छिमेकी देश भारतबाट आउने पर्यटकका आगमन बढ्ने विश्वास गरे ।

डुलुवा टोलीलाई बिदाई गर्दै पोखरा महानरपालिकाका मेयर धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल लगायत ।

पर्यटन प्रवर्द्धनकालागि युवा पर्यटन व्यवसायीको छिमेकी देश भारतका विभिन्न सहरमा पुगेर प्रवर्द्धनात्मक कार्यक्रम गर्नु पर्यटन विकासलागि महत्त्वपूर्ण रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।पोखराका अग्रज पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य गणेश बहादुर भट्टराईले डुलुवा टोलीको पर्यटन प्रवर्द्धनकालागि सुरु गरेको देश पछिको विदेश यात्राले पर्यटन विकासमा सहयोगी रहने विश्वास गरे । नेपालको पर्यटन प्रवर्द्धनकालागि यस्ता कार्यक्रम महत्त्वपूर्ण रहने डुलुवा टोलीको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी हुन अमेरिका देखि आएका युवा व्यवसायी दीपक पहारीले बताए ।

डुलुवा टोलीलाई बिदाई गर्दै टोलीका आफन्त ।

डुलुवा टोली कास्की देखि कन्याकुमारी सम्मको यात्रा गरी करिब एक महिनामा नेपाल फर्कने कार्यक्रम संचालक ठाकुर प्रसाद बरालले बताए । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका नि प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विदाई गरेका थिए । कार्यक्रममा स्थानीय, पर्यटन प्रवर्द्धनकालागि भारत यात्रामा जाँदे गरेकाे डुलुवा टाेलीका आफन्त लगायतले पनि यात्रा सफलताकाे कामना गर्दै विदाई गरेका थिए ।

यात्रामा निस्केको डुलुवा टोलीका संयोजक लगायत ।