पशु- प्राणीमाथिको क्रूरता अन्त्य गर


     नेचर न्युज    
     भाद्र ५ गते २०८१ मा प्रकाशित


मानिस चेतनलसिल प्राणी हो । यसैले मानिसलाई अन्य प्राणीभन्दा श्रेष्ठ मानिन्छ । चेतना भनेको सबैको दुःख पिढा उस्तै हुन्छ भन्ने हो । तर मानिसमा यस्ता पन भने हराउँदै गएको छ । मानिसमा क्रूरता बढ्दो क्रममा छ ।

मानिस मानिस बिचमै पनि क्रूरतापूर्वक व्यवहार वर्तमानमा छ । यो भन्दा बढी क्रूरतापूर्ण व्यवहार पशु- प्राणीमाथि हुँदै आएको छ । पशु चौपायाहरुलाई यातनापूर्वक ढुवानी हुँदै आएको छ । खोर वा गोठमा कष्टपूर्वक थुनेर अनि बाँधेर राख्ने पनि गरिँदै आएका छन् । यस्तै खच्चड, घोडा, गोरु लगायतलाई क्षमताभन्दा बढी भारी बोकाउने काम हुँदै आएको छ । यी सबै आपराधिक कृत्य हो । तर सरकारले यस्ता विषयमा अनुगमन गर्ने र कानुनअनुसार कार्यान्वयन गर्न तर्फ लागेको पाइँदैन । 

पशु- प्राणीमाथि हुने क्रूरता दण्डनीय मानिन्छ । तर कानुन कार्यान्वयनै भएको छैन । पशु- प्राणीलाई कुने पनि हिसाबले सताउने, दुःख दिने यातना दिने काम अपराध हो । क्रूरतापूर्वक काटमार गर्नु, हिर्काउनु, घाइते बनाउनु अपराध हो । क्षमता भन्दा बडी भारी बोकाउनु, दौडाउनु, कष्टपूर्वक ढुवानी गर्नु असहज हुने गरी बाँधेर राख्नु वा थुन्नु, रोगी वा बूढा भएपछि खाना र औषधि नदिनु अपराध हो ।

मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । घरपालुवा जनावरलाई  बुढा, रोगी भएपछि सडकमा छाड्नु पनि अपराध हो ।  यस्ता कुनै पनि किसिमको हत्या, हिंसा भएको छ भने यस्तो गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवना हुनसक्ने प्रावधान छ ।

अधिकारकर्मीहरूले यो व्यवस्था आफैमा पूर्ण र त्यति वैज्ञानिक पनि नभएको भन्दै अझै कडा सजाय हुनुपर्ने माग गर्दै आएका छन् । तर अहिलेको कानुन अनुसार अपराध गर्नेलाई कारबाही भने भएको पाइँदैन । घरपालुवा जनावर मात्र होइन वन्यजन्तुलाई पनि क्रूरतापूर्वक यातना दिने, मार्ने हुँदै आएको छ । 

बिरामी अवस्थामा फेलापरेका चितुवा लगायतका वन्यजन्तुलाई आक्रमण गर्न आएको भन्दै त्यस्ता जनावरको स्वास्थ्य अवस्था नबुझी एकोहोरो लाठीले हान्ने , घेर्ने काम पनि हुँदै आएका छन् । बुढा, रोगी कुकुरलाई विष खुवाएर तड्पाई तड्पाई मार्ने पनि गरिएको पाइन्छ । यसरी मारेर खुला ठाउँमा फ्याँक्दा विषाक्त सिनो खाँदा ठुलो सङ्ख्यामा गिद्ध मर्ने गरेका घटना भइरहेका छन् ।

यस तर्फ पनि राज्यपक्ष र सरोकारवालाहरूले ध्यान दिनु पर्ने छ   यस्ता क्रूर काम गर्नेहरूलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नु पर्छ । वन्यजन्तुहरुको अवैध व्यापार रोक्न पनि प्रभावकारी काम हुन सकेको छैन । यसतर्फ सरकार र सरोकारवालाहरुको ध्यान जानु आवश्यक छ ।