
पोखरा पदयात्रा पर्यटनकालागि विश्वमै उत्कृष्ट गन्तव्य मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला प्रत्येक वर्ष धेरै पर्यटक पुग्न थालेका छन् । सन् २०१९ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा सबैभन्दा धेरै १ लाख ८१ हजार पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । कोभिडपछि लगातार पर्यटक घट्दो क्रममा रहेकामा सन् २०२३ र २०२४ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् २०१९ को रेकर्डलाई पनि ब्रेक गर्दै पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले बताए ।
कोभिडका कारण सन् २०२१ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक घटेर सबैभन्दा कम १६ हजार १०५ को सङ्ख्या पुगेको थियो । सन् २०२२ मा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेर १ लाख २९ हजार पुगेको थियो । सन् २०२३ मा सन् २०१९ को सबैभन्दा धेरै पर्यटक पुगेको तथ्याङ्कलाई ब्रेक गर्दै १ लाख ९१ हजार ५ सय ५८ जनाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२४ मा पर्यटकको सङ्ख्या अझै बढेर २ लाख ४४ हजार ४५ जना विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्क छ । सन् २०२४ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरू मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका पर्यटक १ लाख २९ हजार ७ सय ५९ जना रहेका छन् । छिमेकी देश भारतबाट तीर्थ यात्रीका रुपमा मुक्तिनाथ जाने पर्यटक धेरै भएकोले पनि भारतीय पर्यटकको सङ्ख्या प्रत्येक वर्ष उच्च हुँदै गएको हो । यसैले पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढेको हो ।
त्यसपछि अर्को छिमेकी देश चीनका १० हजार १ सय ८० जना रहेका छन् । दुई छिमेकी देशपछि सबैभन्दा धेरै युरोपियन देश फ्रान्सका पर्यटक ९ हजार २ सय ५१ जना रहेका छन् । अमेरिकाका ८ हजार ६ सय ३० जनाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्दा ७ हजार ८ सय २ जना जर्मन पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका छन् । यस्तै गरी बेलायती पर्यटक ७ हजार ६ सय २९ जनाले अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गरेका छन् । सातौँमा साउथ कोरियन पर्यटक पुग्दा ८ औ धेरै पुग्ने देश अस्ट्रेलिया त्यसपछि नेदरल्याण्ड र दशौँमा इजरायलका पर्यटक परेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राकालागि सबैभन्दा रुचाइएको गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग हो ।
अन्नपूर्ण आधार शिविर (कास्की) घान्द्रुक पुनहिल पदयात्रा हो । पछिल्लो समयमा मर्दी हिमाल पनि पर्यटकको रोजाइको पदयात्रा मार्गको रुपमा विकास भएको छ । अन्नपूर्ण पदयात्रा क्षेत्र विदेशी पर्यटकका लागि मात्र होइन पछिल्लो समयमा स्वदेशी पर्यटकको पनि रोजाइको गन्तव्य बनेको छ । ७ हजार ६ सय २९ वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राकालागि आकर्षक गन्तव्य हो । पछिल्लो समयमा बस्ती नभएका पदयात्रा मार्गमा पनि सडक विस्तार गरिदा पदयात्रामा रमाउने पर्यटक आउने क्रम घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कबाट पुष्टि हुन्छ ।
पहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा सबैभन्दा धेरै युरोप, अमेरिकन पर्यटक पुग्ने गरेकोमा पछिल्लो समयमा भारतीय र चिनियाँ पर्यटक बढेका छन् । पदयात्रा मार्गका सडक सञ्जाल विकास हुने तर वैकल्पिक पदयात्रा मार्ग नबनाउँदा यसको असर पदयात्रामा आउने पर्यटकलाई परेको छ । यसैले शान्त वातावरण रुचाउन पर्यटक आउने क्रम केही हद सम्म घटेको टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्य बताउँछन् ।