समुदाय नै संरक्षणमा : पोखराको तिब्रेकोट सामुदायिक वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण


     नेचर न्युज    
     पौष २१ गते २०८१ मा प्रकाशित


किसानको साथी भनेर चिनिने लाटोकोसेरो संरक्षणकालागि समुदाय नै एक भएर संरक्षणमा लाग्ने प्रतिबद्धता जनाएका छन् । पोखरा २५ हेमजाका स्थानीयले लाटोकोसेरो संरक्षणकालागि स्थानीय तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।२७५ घर धुरी सदस्य रहेको सामुदायिक वनका सदस्यहरूले तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।

पोखराको हेमजामा शनिबार प्रकृतिका साथीहरु नामक संस्थाले आयोजना गरेको लाटोकोसेरो संरक्षण शिविरमा तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवरले लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।मुसा खाएर किसानका अन्नबाली संरक्षणमा महत्त्वपूर्ण योगदान दिने लाटोकोसेरोको बारेमा प्रकृतिका साथीहरु नामक संस्था बेला बेलामा लाटोकोसेरो संरक्षण जनचेतना मूलक कार्यक्रम गरेपछि समुदाय नै संरक्षणमा लाग्नुपर्छ भनेर लाटोकोसेरो संरक्षण विशेष क्षेत्रको साथै गुलेली निषेधित क्षेत्र घोषण गरिएको तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कृष्णबहादुर कुँवरले बताए ।

स्थानीयले सोनी केसीले लाटोकोसेरोको महत्वको बारेमा जानकारी पाउँदा खुशुी लागेको सुनाइन् । प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले एक जोडी वयस्क लाटोकोसेरोले चार महिनाको समयावधिमा तीन हजार मुसाहरू खाने अध्ययनले देखाएको बताए । कृषि प्रधान देश नेपालमा लाटोकोसेरोले मुसा खाएर किसानको खाद्यान्न जोगाएर किसानलाई गुन लगाउँदै आएको छ । यति महत्त्वपूर्ण पन्छी संरक्षणकालागि तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहले लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणको साथै गुलेली निषेधित क्षेत्र घोषण गरेकोमा खुसी व्यक्त गरे ।

लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरिएकाे पाेखरा २५ काे तिब्रेकोट सामुदायिक वन ।

यस घोषणाले लाटोकोसेरोको साथै अन्य पन्छी र वन्यजन्तु संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताए । सय हेक्टर क्षेत्रफलको बनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र समुदायले घोषण गरेको यो पहिलो रहेको पनि उनले बताए । स्याङ्जा, म्याग्दी जिल्ला लगायत ५ क्षेत्रमा समुदायले लाटोकोसेरो संरक्षण क्षेत्र र गुलेली निषेधित क्षेत्र घोषण गर्ने तयार गरेका छन् । सरकारले जनताबाट चाहे अनुसार समुदाय नै संरक्षणमा लाग्ने गरी लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेकोमा डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले खुसी व्यक्त गरे । घोषण डिभिजन वन कार्यालय सँग समन्वय गरेर भएको पनि उनले बताए । संरक्षणमा समुदाय नै जागरूक भएर लागेकोले वन कार्यालयले आवश्यक सहयोग गर्ने पनि उनले सुनाए । 

प्रकृतिका साथीहरु नामक संस्थाले विगत ११ वर्ष अघि देखि लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव गर्दै आएको छ । यस वर्ष जनकपुरमा १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव आयोजना हुँदै छ । लाटोकोसेरो संरक्षण उत्सव गर्दै प्रकृतिका साथीहरूले यस वर्ष कास्की, स्याङ्जाका विभिन्न क्षेत्रमा लाटोकोसेरोकालागि १ सय वटा कृतिम गुँड बनाएर राखेको प्रकृतिका साथीहरु नामक संस्थाले जनाएको छ । लाटोकोसेरो तथा हुचिलको अवैध व्यापार, शिकार र बासस्थानको क्षतिबाट उल्लु संरक्षणमा चुनौती बन्दै गएको बेलामा प्रकृतिका साथीहरु संस्थाले लाटोकोसेरो संरक्षण उत्सव पनि गर्दै आएको संस्थाका निर्देशक आचार्य बताउँछन् । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् ।

लाटोकोसेरो तथा वन्यजन्तु संरक्षणमा विशिष्ट योगदान पु¥याएको भन्दै राजु आचार्यलाई सन् २०२४ मा लन्डनमा ह्विटली अवार्डबाट पुरस्कृत गरिएको थियो । बेलायतकी राजकुमारीबाट ५० हजार पाउण्डको ह्विटली अवार्डबाट सम्मनित आचार्य गुलेले प्रतिवन्ध, लाटोकोसेरोलाई कृत्रिम गुँड निर्माण अभियानमा जुटेका छन् । यस अभियान अन्तर्गत गण्डकी प्रदेशका बिभिन्न जिल्लामा लाटोकोसेरो संरक्षण प्रशिक्षण, शिविर लगायत संरंक्षण कार्यक्रम पनि संचालन गर्दै आएका छन् ।