लस एन्जलसमा आगो निभाउने प्रयास जारी


     नेचर न्युज    
     पौष २८ गते २०८१ मा प्रकाशित


तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ।अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन्। शक्तिशाली हुरीमाझ आगो निभाउने प्रयास जारी रहेको छ ।

विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन्। मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा ठाउँठाउँमा सवारी आवागमन प्रभावित भएको थियो।

कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन्। केही सवारीसाधनलाई डोजर प्रयोग गरेर हटाइएको छ। लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीले हवाई निरीक्षण गर्दा आगलागी फैलिएको क्षेत्र १,२६० एकरभन्दा बढी पुगेको सञ्चार माध्यमहरुलाई बताएकी छन् । उनका अनुसार भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिएको छ।

ूआगो निभाउन खटिएका टोलीले ठूलो चुनौती खेपिरहेका छन् । आगो फैलिएको क्षेत्रमा २५० अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालित छन्। क्रलीले १०,००० भन्दा बढी घर र १३,००० भवन जोखिममा रहेको बताएकी छन् । मङ्गलवार स्थानीय समयानुसार १०ः३० बजे सुरु भएको डढेलोले तीव्र हावा र सुक्खा अवस्थाका कारण भयानक बनेको थियो। सान्टा आना नामक शक्तिशाली हुरीले क्त डढेलोलाई तीव्र गतिमा फैलाएको विवरणहरू आएका छन्।

भिडिओ फुटेजहरूमा प्यासिफिक प्यालिसेड्स क्षेत्रमा घरहरूमा आगो लागेको र मानिसहरू कार छाडेर आगोको लप्काबाट बच्न भागिरहेको देख्न सकिन्छ। डढेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रका लागि चेतावनी जारी गरिएको छ। प्यासिफिक प्यालिसेड्स एउटा दुर्गम तर उच्च जनघनत्व भएको क्षेत्र हो। यो प्रशान्त महासागरको सीमामा पर्ने सान्टा मोनिका पर्वतको सीमामा अवस्थित छ।

स्थानीय बासिन्दाहरूले मुख्य सडकमा भारी ट्राफिक रहेको गुनासो गरिरहेका छन्। हावाको वेग अझै बढ्ने चेतावनी मौसमसम्बन्धी निकायले दिइएकाले राति पनि आगोको खतरा कायम रहने बताइएको छ। विगत केही वर्षहरूमा अमेरिकामा डढेलोको आकार, अवधि र शक्ति नाटकीय ढङ्गले वृद्धि भएको छ। अधिकांश त्यस्ता डढेलो मानवीय गतिविधिका कारण लागेका बताइन्छ। सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिहन्छन्। सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा हालसम्मकै खराब डढेलो लागेको थियो।

आगोलागिका कारण वन्यजन्तु, वनस्पति, जैविक विविधतालाई ठूलो नोक्सान पु¥याएको छ ।