
पोखरा ः कोटिहोम गर्नकालागि पोखराका चौताराका वर पिपलका रुख काटेर जम्मा गरेका काठ दाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ ।
अनुमति बिना वर पिपलका रुख ठुटो बनाएर काटेर पोखराको बैदाम स्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्नमन्दिर परिसर भित्र जम्मा गरेर राखिएका काठ, दाउरा पोखरा महानगरपालिकाले बुधबार जफत गरेको हो । मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखरा १४ का चौताराका रुख मुठारेर ट्रस्टको स्वामित्वमा रहेको बैदाम स्थित फेवाताल किनारको नेपाल ट्रस्टका जमिनमा चाङ बनाएर राखेको थियो ।
सांस्कृतिक महत्वका ऐतिहासिक चौताराका वर पिपलका रुख मुठारेपछि सामाजिक सञ्जालमा पोखरा महानगरपालिकाको आलोचना भइरहेको छ । अनुमति नलिई काटिएका वर पिपलका रुखका काठ दाउरा ट्रस्टको परिसर भित्र राखिएको भन्दै स्थानीयले नेपाल ट्रस्टको आलोचना गरेका छन् । महानगरपालिकाले भने कोटिहोम आयोजकले अनुमति नलिएको बताउँदै आएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफूहरूसँग कोटिहोम आयोजकले अनुमति नलिएकोले कारबाही गर्ने बताउँदै आएका छन् ।

मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा गम्भीर ध्यानाकर्षण भएको भन्दै तापक्रम वृद्धिले माछापुच्छ्रे« हिमाल कालो हुँदै गएको विषय छलफलको विषय भइरहेको बेलामा पोखराका सार्वजनिक चौतारा र अन्य स्थानमा दिनदहाडै सयौँ वर्ष पुराना वर, पिपल र स्वामीका रुखहरू निर्मम रुपमा काटिएको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । मेयर आचार्यले पोखरा महानगरपालिका र स्थानीय प्रशासनले कुनै कोटिहोम आयोजना गर्न कसैलाई अनुमति प्रदान नगरेको पनि बताएका छन् । पोखराको बैदाम स्थित फेवाताल किनारमा । मानव सेवा फाउन्डेसनले कोटिहोम गर्दै छ । त्यही कोटिहोमकालागि आवश्यक दाउराकालागि पोखरा वडा नम्बर १४ का वर पिपलका रुख मुठारेर दाउरा थुपारिएको थियो ।

पोखरा १४ शुभ मार्ग टोलका चौतारा नपलाउने गरी मुठारिएको हो । पोखरा १३ र पोखरा ६ का चौताराका रुख पनि कतै काँटछाँट त कतै मुठारेर काटिएका छन् । मानव सेवा फाउन्डेसन, नेपालले आगामी वैशाख १७ देखि जेठ २६ सम्म पोखरामा गर्ने कोटिहोम विराट महायज्ञ गर्दै छ । त्यसमा हवन गर्नकालागि आवश्यक दाउराकालागि भन्दै बर, पिपल, समी लगायतका रुख काटिएको हो । यस्ता रुख काट्न महानगरपालिका र वडा कार्यालय पोखरा १४ ले अनुमति नदिएको बताउँदै आएका छन् । मक्किएका र सुकेका रुखका हाँगा काट्न महानगरपालिकाले बेला बेलामा अनुमति दिने गरे पनि ऐतिहासिक सय वर्ष भन्दा पुराना वर पिपलका रुख काट्न अनुमति नदिएको पनि महानगरपालिकाले जनाएको छ । यसअघि पशुपति महायज्ञ गरेको फाउन्डेसनले पोखराको बैदाम स्थित फेवाताल किनारमा कोटिहोम गर्न लागेको हो ।

कोटिहोमकालागि पोखराका विभिन्न वडाबाट आवश्यक काठदाउँरा स्थानीय टोल विकास संस्था समन्वय गरेर रुख काटिएको फाउन्डेसनले जनाएको छ । चौतारा संरक्षण ऐनको दफा ७ मा वर, पिपल, समी र चौतारा काट्नु, मास्नु वा हटाउनु पूर्व अध्ययन तथा सिफारिस समितिको सिफारिसका आधारमा मात्रै गर्नुपर्ने प्रावधान छ । यसरी जम्मा गरी राखिएका काठ दाउरा नेपाल ट्रस्टको कम्पाउन्ड भित्र राखिएका काठ दाउरा जफत गर्न महानगरीय प्रहरी ट्रक र डोजर लिएर पुगेको थियो । गेटको चापी फाउन्डेसनका अधिकारी सँग भएको र गेटको चापी नपाएपछि ट्रस्टका अधिकारी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा मुचुल्का बनाई ताला फोडेर काठ दाउरा जफत गरिएको थियो ।