सन् २०२५ पोखरा भ्रमण वर्ष : २० लाख पर्यटक आउने विश्वास


     नेचर न्युज    
     फागुन २ गते २०८१ मा प्रकाशित


सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइने भएको छ । देशको पर्यटकीय राजधानी पोखरामा स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न पोखरा भ्रमण वर्ष २०२५ घोषण हुँदै छ ।
पोखरा महानगरपालिकाले २०२५ वर्षलाई पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको हो । फागुन ३ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने कार्यक्रम रहेको मेयर धनराज आचार्यले बताएका छन् ।

कार्यक्रममा पौडेलसहित संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्याल उपस्थिति रहने पनि उनले बताए । भ्रमण वर्ष घोषणा गर्न पोखराका ३३ वटै वडा र पोखरा पर्यटन परिषद्को टोली ¥याली निकाल्दै प्रदर्शनी केन्द्रमा जम्मा हुने मेयर आचार्यले सुनाए । पोखरा भ्रमण वर्ष २०२५ मा स्वदेशी र विदेशी २० लाख पर्यटक भित्रने लक्ष्य राखिएको मेयर आचार्यले बताए । त्यसका लागि पोखरा भित्र्ने नाकामा पर्यटकको अभिलेख गरिने मेयर आचार्यले सुनाए ।

भ्रमण वर्ष सफल बनाउन जनप्रतिनिधि, कर्मचारी नागरिक समाज र पर्यटन व्यवसायीसहितको १,५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । जसको संयोजक मेयर आचार्यले छन् । समितिले पोखरालाई पर्यटनको हबको रूपमा प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई मजबुत बनाउने रहेको पनि उनले बताए । मूल समारोह समितिले विभिन्न प्रचार र प्रचारात्मक अभियानहरू चलाउने, पोखराको ब्राण्डिङ गर्ने, विशेष घटनाहरूको आयोजना गर्ने उद्देश्य रहेको बताइएको छ ।

कार्यक्रमहरूमा स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न अभियानहरूको सञ्चालन गर्दै विभिन्न देशबिच भगिनी सम्बन्ध स्थापना गर्ने योजना रहेको मेयर आचार्यले सुनाए । यो समितिले भ्रमण वर्ष सफल बनाउन गैर आवसीय नेपाल तथा स्वेदशी पाहुनालाई सपरिवार तथा इष्टमित्रलाई पोखरा भ्रमण गर्न आह्वान गर्ने जनाइएको छ ।
पोखराको पर्यटन क्षेत्रमा सुधारका लागि विभिन्न पूर्वाधार निर्माण गर्ने प्रक्रिया पनिअघि बढाइएको आचार्यले सुनाए । भ्रमण वर्ष घोषणा भएकै दिन विभिन्न प्याकेज पनि सार्वजनिक हुने मेयर आचार्यको बताए । ‘पोखरा हाम्रा लागि मात्र होइन, नेपालको प्रमुख पर्यटन गन्तव्य हो । यस भ्रमण वर्षको माध्यमबाट हामी पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई सशक्त बनाउन तपाईं सबैको सहयोग चाहिन्छ,’ मेयर आचार्यले भने ।