कोभिड अस्पतालकालागि प्रतिष्ठानबाट ३० लाख सहयोग


     नेचर न्युज    
     जेठ ११ गते २०७८ मा प्रकाशित


पाेखरा । पोखरा महानगरपालिका २७ को वडा कार्यालय (साविक लेखनाथ नगरपालिकाको कार्यालय) मा सञ्चालनको तयारीमा रहेको भेन्टिलेटर सहित एकसय शैयाको कोभिड केयर अस्पतालकालागि नमस्ते सामुदायिक प्रतिष्ठानले ३० लाख आर्थिक सहयोग गरेको छ ।

कोभिड संक्रमितले अक्सिजन र बेडको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले निर्माण गर्दै गरेको कोभिड अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको नमस्ते सामुदायिक प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष भिष्मराज पौडेलले बताए ।

अक्सिजन मेसिनसहितको काेभिड केयर अस्पताल सञ्चालनकालागि पर्याप्त आर्थिक स्रोत नभएको जानकारीमा आएपछि नमस्ते सामुदायिक प्रतिष्ठानले आवश्यक अक्सिजन मेसिन लगायत स्वास्थ्य सामग्री खरिद गर्नकालागि आर्थिक सहयोग गरेको अध्यक्ष पौडेलले सुनाए । विगत २७ वर्षदेखि विभिन्न सामाजिक संस्थामार्फत समाज सेवा गर्दै आएका पर्यटन व्यवसायी समेत रहेका पौडेलले नेदरल्याण्ड स्थित दातृ निकायसँगको सहकार्यमा अस्पताललाई आर्थिक सहयोग गरेको बताएका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारी अस्पतालमा कोरोना संक्रमितको चाप ह्वात्तै बढेकाे छ । धेरैको रोजाइ पर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा इमर्जेन्सीमै राखेर कोरोना संक्रमितको उपचार गर्नु परेकाे छ । यसैले महानगरपालिकाले काेभिड अस्पताल सञ्चालनमा ल्याउन लागेकाे हाे ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसि, लायन्स क्लव अफ डिस्ट्रिक्ट ३२५ बि १ नेपालका संयोजक लायन मोहनबाबु खड्का, पूर्व लायन गभर्नर लायन धनराज आचार्यलगायतको उपस्थितिमा अस्पतालकालागि आवश्यक बेड तथा अक्सिजन मेसिन खरिदको लागि नमस्ते सामुदायिक प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष पौडेलले दश लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

अस्पताललाई चाहिने थप स्वास्थ्य सामग्री आउदै गरेकाे पौडेलले बताए । प्रतिष्ठानले अन्नपूर्ण गाउँपालिका, पोखरा महानगरपालिकाका विभिन्न स्थानमा पनि स्वास्थ्य सामग्री पिपिई सेट, अक्सिमिटर, थर्मामिटर, मास्क, सेनिटाइजर, स्प्रेलगायतका सामग्री हस्तान्तरण र कोभिड संक्रमित बिरामीलाई अस्पतालमै पुगेर खानाको व्यवस्था समेत गरेको पौडेलले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले सबैको सहयोग र सहकार्यमा कोरोनासँग लड्न निर्माण भइरहेको अस्पताल बिहिबारदेखि सञ्चालनमा आउने बताएका छन् । कोरोना संक्रमण दर बढ्दै गएपछि पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याउँदै गरेको कोभिड अस्पताल सञ्चालनकालागि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ को सहकार्य रहेको छ । यही जेठ १३ गतेभित्र सञ्चालनमा आउने गरी अस्पताललाई चाहिने आवश्यक बेड,अक्सिजन लाइन बिस्तार, भेन्टिलेटर जडान लगायतका काम भइरहेको खड्काले बताए ।