तीन सरकारी अस्पताललाई पाेखरा पर्यटन परिषदबाट अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग


     नेचर न्युज    
     जेठ १७ गते २०७८ मा प्रकाशित


पोखरा: पोखरा पर्यटन परिषदले पोखराका सरकारी अस्पताललाई कोभिडसँग जुध्न अक्सिजन आफै उत्पादन गर्ने दश लिटरको ६ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

परिषदले पोखराका तीन अस्पताललाई आइतवार झण्डै १५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिषद पोखराका पर्यटन व्यवसायीहरूको छाता संगठन हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, नमस्ते फाउण्डेसनका अध्यक्ष भिष्मराज पौडेललगायतले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिसु मितेरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथ अस्पतालका प्रतिनिधिहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

पोखरा पर्यटन परिषदले स्वास्थ्य सामग्री चीनबाट खरिद गरेर ल्याएको हो । स्वास्थ्य सामग्रीकालागि नमस्ते सामुदायिक प्रतिष्ठान, अमेरिकास्थित नेप्लीज एशोसिएसन अफ जर्जिया र नेपाल कल्चर सेण्ट जर्जियाका जनसम्पर्क समितिका प्रतिनिधि दिपक पहारी, होटल माउण्ट कैलाश रिसोर्ट, प्याराडिसो स्पोर्टस् एण्ड बार, होटल लेक शोर, टेम्पल ट्रि रिसोर्ट, इजी एक्सपर्ट एण्ड इम्पोर्ट सर्भिसलगायतले सहयोग गरेका छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गण्डको प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मान्छेको जीवनभन्दा महत्वपूर्ण अरू केही नरहेकोले जीवन रक्षाकालागि प्रदेश सरकार लागी रहेको सुनाए । बारपाकबाट कोरोना संक्रमितलाई शनिबार प्रदेश सरकारले हेलिकोप्टरबाट उद्धार गरेको थियो ।

कोरोनाबाट बच्न मुख्य विषय नै खोप भएकोले खोपको व्यवस्था गर्न सरकार लागी परेको उनले सुनाए । मुख्यमन्त्री गुरुङले कोरोनाको तेस्रो लहर पनि आउन सक्ने भएकोले त्यसकालागि प्रदेश सरकारले तयारी गरिरहेको र नागरिक पनि सचेत हुनु पर्नेमा जोड दिए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोना संकटले सबैभन्दा मारमा पर्यटन उद्योग परेको बताउँदै स्वास्थ्य संकटमा पर्यटन व्यवसायीको सहयोग मानव रक्षाकालागि सञ्वीवनी हुने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना संकटमा जुध्न पोखरा पर्यटन परिषदले अगुवाई गरेर अक्सिजन आफै उत्पादन गर्ने दश लिटरको ६ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहित अति आवश्यक स्वास्थ्य सामग्री चीनबाट खरिद गरेको बताए । स्वास्थ्य संकटको बेला यो अभियानमा सहयोग गर्ने सबै संघसंस्थालाई परिषदका अध्यक्ष भट्टराईले धन्यवाद व्यक्त गरे ।