
पोखरा: कास्कीको मादी गाउँपालिका ५ चितेपानीका ४० वर्षीय रोशन सापकोटा पर्यटन प्लेटको गाडी चलाउँदै आएका थिए। कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएपछि उनको नियमित काम रोकियो। लकडाउनमा उनी गाउँ फर्किए। गाउँमा प्रशस्त जग्गा जमिन भएकोले खेती किसानीमा व्यस्त थिए।
देशै भर कोरोना सङ्क्रमण बढ्दै गयो। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि सङ्क्रमण दर बढ्दै गएको थियो। मृत्युको सङ्ख्या पनि बढ्न थाल्यो। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अस्पतालसम्म बिरामीलाई पुर्याउने एम्बुलेन्सको पनि अभाव हुन थालेको थियो।
यसै क्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष द्वय गणेशबहादुर भट्टराई र टीकाराम सापकोटाले कोरोना सङ्कटमा एम्बुलेन्स सेवा आवश्यक देखेपछि आफै रकम जुटाए। बालहितकारी परियोजना नेपालले सञ्चालन गर्दै आएको तर पछिल्लो समयमा बिग्रेर थन्केको एम्बुलेन्सलाई मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउने भए। एम्बुलेन्स तयार भयो । वैशाख १ गतेदेखि नि:शुल्क एम्बुलेन्स सेवा सुरु गर्ने तयारीमा रहे पनि कोरोना महामारीमा चालक पाउन सहज थिएन। यस अभियानका अभियन्तामध्येका एक टीकाराम सापकोटाले आफ्नै गाउँका भाइ नाताका रोशनलाई एम्बुलेन्स चालकको आवश्यकता रहेको सुनाए।

एम्बुलेन्स चालकको आवश्यकता रहेको सुनेपछि रोशन एम्बुलेन्स चलाउन तयार भए। उनै एम्बुलेन्स चालक रोशन सापकोटा यति बेला कोभिड बिरामीलाई अस्पतालसम्म लग्न निकै व्यस्त छन्। उनी पोखराको फेवाताल किनारको वसुन्धरा पार्कको १ सय ८ रोपनी क्षेत्रको एउटा छेउमा रहेको मितेरी नारी समूहको अफिस कोठामा एकान्त बासमा छन्। दैनिक कोभिड बिरामी ओसारपसार गर्नुपर्ने भएकोले उनी घर छाडेर एकान्त बास बसेका हुन्। गत वैशाख १ गतेदेखि एम्बुलेन्स चलाउन थालेका रोशनले पहिलो दिनमै पोखराका विभिन्न स्थानबाट ६ जना कोरोना सङ्क्रमितलाई अस्पताल पुर्याए।
पहिलो दिन कोरोना सङ्क्रमितलाई अस्पताल पुर्याउँदा धेरैले डराइनस् भनेर सोधेको उनले सुनाए। मलाई कुनै डर लाग्नु भन्दा पनि सङ्क्रमितलाई बेलैमा उपचार गर्न अस्पतालसम्म पुर्याउनुपर्छ भन्ने मात्र मनमा आउने गरेको उनले बताए। बिरामीले अक्सिजन लगाएका हुन्छन्। उनीहरूलाई गाह्रो भएको होला भन्ने मात्र मनमा आउने उनले सुनाए। यसैले छिटो अस्पताल पुर्याउन हतारो हुने उनले बताए। उनले दैनिक ३-७ जना सम्म कोभिड बिरामीलाई अस्पतालसम्म पुर्याएको सुनाए। अहिले भने पहिलेको तुलनामा केही कम फोन आउने गरेको छ। बिरामीलाई अस्पतालसम्म लग्नुपर्यो भनेपछि खाना पकाउँदा-पकाउँदै र खाना खाँदा-खाँदै छाडेर तुरुन्तै जाने गरेको पनि उनले सुनाए।
कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पुर्याउनु पर्यो भनेर राति पनि फोन आउँछ । बिरामीको कस्तो अवस्था होला भन्ने मनमा लाग्छ र उठेर तुरुन्तै बिरामीलाई अस्पतालसम्म पुर्याउनु कुद्ने गरेको उनले सुनाए । अस्पताल पुर्याउँदापुर्याउँदै कहिले त खाना पकाउने समय पनि हुँदैन। त्यस्तो बेलामा टीकाराम दाइ र गणेश भट्टराई दाइले पठाइदिने गरेको उनले सुनाए।
कोरोना दोस्रो लहरको यो जटिल समयमा कोरोना सङ्क्रमितलाई सेवा गर्न खटिनु नै सबैभन्दा ठुलो योगदान उनको रहेको टीकाराम सापकोटाले बताए। तलब जति भए पनि यति बेला कोरोना भनेपछि तर्सिने समयमा कोरोना सङ्क्रमितलाई बचाउन समयमै अस्पतालसम्म पुर्याउने हुटहुटी प्रशंसनीय रहेको टीकारामले बताए। अझै एकान्त बास बसेर कोरोना सङ्क्रमितको सेवामा लाग्नु अझै ठुलो कुरा रहेको उनले सुनाए।

धेरै सङ्क्रमितलाई अस्पतालसम्म छोड्ने, ल्याउने गर्दै आउँदा विशेष गरी आफूले अस्पताल पुर्याएका सिकिस्त बिरामीहरूको अवस्था कस्तो होला भन्ने जिज्ञासा भने भइरहने उनले बताए । रोशनका एक छोरा र एक छोरी छन् । श्रीमती वैदेशिक रोजगारमा छिन्। छोराछोरी अहिले मामाको घरमा छन् ।
कोरोना सङ्क्रमितलाई अस्पतालसम्म लग्न एम्बुलेन्स चालकको काम सुरु गर्नुअघि उनले दाजु भाउजूसँग अनुमति मागेका थिए। यो कुरा सुनेपछि दाजु भाउजू मेरै मायाले रिसाएर ज्यानको माया लाग्दैन भनेर गाली गर्नु भएको उनले बताए। कठिन अवस्थामा सेवा गर्नु नै धर्म ठाने र ‘मैले स्वास्थ्यको ख्याल गर्दै एम्बुलेन्स चलाउँछु’ भनेर दाजु भाउजू र छोरीलाई सम्झाएर काम सुरु गरेको उनले सुनाए।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…