मणिपाल अस्पतालमा नागरिक नठगिउन्


     नेचर न्युज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित


नेपालकै पहिलो निजी शिक्षण अस्पताल मणिपाल स्वामित्व हस्तान्तरण प्रक्रियामा छ ।  करिब ३० वर्षअघि भारतको चर्चित मणिपाल हस्पिटल एण्ड एजुकेसन ग्रुपले पोखराको फूलबारीमा अस्पताल स्थापना गरेको थियो । सरकार र मणिपाल ग्रुपबीच सन् १९९२ को अक्टोबर १८ मा पोखरामा मणिपाल शिक्षण अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो ।

पोखराका व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले मणिपाल अस्पतालको स्वामित्व आफूहरूसँग आइसकेको जिकिर गरेका छन् । उक्त अस्पताल आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले खरीद गरेकाे बताइएकाे छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने अहिले सम्म हस्तान्तरण भएको आधिकारिक रूपमा जानकारी नपाएको बताएका छन्।

मणिपाल शिक्षण अस्पतालले महानगरपालिकालाई २०७६/०७७  सम्म २१ करोड रुपैयाँ कर तिर्न बाँकी रहेकाे पनि उनले जानकारी दिए । याे चालु आर्थिक वर्ष २०७७/०७८ बाहेककाे हो । अस्पतालले बर्सेनि मालपोत कर, सम्पत्ति कर, फोहोर कर लगायतका कर तिर्नुपर्छ ।मणिपाल शिक्षण अस्पताल सवा ३ अर्ब रुपैयाँमा किनेको र सो कलेजले तिर्नुपर्ने सबै दायित्व सकारेको पनि बतास अर्गनाइजेसन र अटेवेज प्रालिका सञ्चालकले बताउँदै आएका छन् । 

मणिपाल किन समय छदै फिर्ता गयाे भन्ने बहस पनि चलेकाे छ । युनियनको नाममा हुने आन्दोलन तथा नेपाल सरकारको असहयोगका कारण बहुराष्ट्रिय कम्पनीले नेपालबाट लगानी फिर्ता लैजाने गरेका छन् । मणिपाल पनि यिनै कारणले बाहिरिएको बताइएको छ । तर मणिपाल अस्पतालका कर्मचारी याे तर्कमा सहमत छैनन् । मणिपालले प्रत्येक वर्ष एक कराेड भन्दा बढी रकम कर्मचारीलाई बाेनस दिनमा खर्च गर्दै आएकाे कर्मचारी बताउँछन् । प्रत्येक वर्ष कर्मचारीलाई बाेनस बाड्ने अस्पताल कर्मचारीकाे आन्दोलन तथा नेपाल सरकारको असहयोगका कारण जान लागेकाे भन्ने कुरामा सत्यता नरहेकाे कर्मचराी बताउँछन् ।

सरकारसँग मणिपालाले गरेको सम्झौता अनुसार मणिपाल बेचेर हिँड्न नै पाउँदैन भन्ने बहस पनि चलेको छ । सम्झौता भएको मितिले ४९ वर्षभित्र भाडामा लिएको जग्गामा बनेका भौतिक संरचनासहित नेपाल सरकारलाई हस्तान्तरण हुनुपर्ने सम्झौता रहेकाे अवस्थामा भारतीयले नेपालीलाई बेचेपछि के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । यो विषय सरकारले कानुन अनुसार व्यवस्थापन गर्नुपर्छ । सरकार र नागरिक दुबै नठगिउन् । कानुन मिचेर सम्झाैता नहाेस । नागरिकले सुलभ दरमै सेवा पाउन । यस विषयमा सरकारले ध्यान नदिन सक्छ नागरिक सचेत हुनु पर्ने छ । ४० रोपनी आफ्नै स्वामित्वको जमिनमा मणिपाल अस्पताल बनेको छ । १० हेक्टर क्षेत्रफलमा फैलिएको मणिपालमा होस्टेल लगायतका संरचना सरकारले उपलब्ध गराएको जमिनमा बनेका छन् । एमबीबीएसदेखि एमडीसम्मको पढाइ हुने यो अस्पताल सर्वसाधारण नागरिकलाई सुलभ दरमा उपचार सेवा दिँदै आएको छ ।

५० रुपैयाँमा नै बहिरङ्ग सेवा पाइने अस्पताल अन्य निजीको तुलनामा धरै सस्तो छ । मणिपाल अस्पताल पोखरेली व्यवसायीको स्वामित्वमा आएको समाचार बाहिर आइरहँदा सुलभ दरमा सेवा पाइरहेका नागरिकले के अव त्यही सुलभ दरमै सेवा पाउने छन् त ? भन्ने प्रश्न यति बेला बहसको विषय बनेको छ । पछिल्लाे समयमा गुणस्तरीयता भने खस्कदै गएकाे त्यही कार्यरत कर्मचारी बताउँछन् । गुणस्तरीयता सहित सुलभ दरमा सेवा नयाँ टिमले दिनु पर्ने छ ।

सवा ३ अर्ब रुपैयाँमा  अस्पताल पोखरेली व्यवसायीले किनेपछि लगानी उठाउन पनि नयाँ सञ्चालकले शुल्क बढाउने छन् र सुलभ दरमा पाइरहेको सेवा अब बढ्ने छ भन्ने चिन्ता नागरिकमा छ । नागरिककाे विश्वास जित्न नयाँ लगानी कर्ताले भनेर होइन पछि सम्म व्यवहारमै देखिने गरी सुलभ र गुणस्तरीय सेवा दिनु पर्छ ।