कोभिड- १९ निर्मुल भएको छैन स्वास्थ्य सर्तकता अपनाउँ : डब्लुएचओ नेपाल प्रमुख डा.पाण्डव


     नेचर न्युज    
     असाेज १६ गते २०७८ मा प्रकाशित


व्यस्त जीवनलाई स्वस्थे राख्ने उद्देश्यका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरु गरेको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा आयोजना भएको छ । 

डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटपाथमा हिँडेर सो कार्यक्रम सम्पन्न गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा.राजेश एस.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।

विश्वभरीनै कोभिड १९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेको उनले सुनाए । यसैले स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम  महत्त्वपूर्ण हुने उनले बताए । कार्यक्रममा डा. पाण्डवले पोखरामा पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए । पोखराबाट देखिने हिमशृङ्खला र तालतलैया निकै लोभलाग्दो रहेको उनले सुनाए । पोखरामा पहिलोपल्ट ‘वाक द टक’ कार्यक्रम  भएको हो । 

यस्ता कार्यक्रमले एकअर्का बिच आत्मीयता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने उनले बताए । डा. पाण्डवले महामारी अझै पनि निर्मुल भइनसकेकाेले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दै स्वस्थ जीवनयापनमा ध्यान दिन आग्रह गरे ।   डब्लुएचओको ७० औँ वार्षिकोत्सवको अवसरमा सन् २०१८ देखि वाक द टक अभियान सुरु भएको हो ।  यस अभियान नेपालको लुम्बिनी, काठमाडौ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओ नेपालका सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । पदयात्रा अघि कार्यक्रममा सहभागीहरूले फेवा किनारमा योगध्यान समेत गरेका थिए । डब्लुएचओ प्रतिनिधि सहित पोखराका विभिन्न क्षेत्र र संघ संस्था र प्रतिनिधि सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।