वर्षा मौसममा किन पर्छ पोखराका सडकमा भ्वाङ


     नेचर न्युज    
     असार १२ गते २०७९ मा प्रकाशित


लगातारको वर्षा संगै पोखरामा यसको प्रभाव देखिन थालेको छ । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाको कारण शुक्रबार राती पोखरा २५ हेमजाको सुइँखेतको बस्ती डुवानमा परेको थियो ।

यसै गरी पोखरा शनिरबार राति परेको वार्षको कारण पोखराको फिर्के खोला नजिकैको मुख्य सडक नै भासिएको छ । भारी वर्षाको कारण पोखरा ४ को सडकसहित एक घर भासिएको हो । बुढानीलकण्ठ किरियाकर्म अगाडिको करिब १५ मिटर बाटो भासिएको पोखरा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले बताए । वर्षाको समयमा पानीको उचित व्यवस्थापन नहुँदा जमिनभित्रको चुनयुक्त माटो पग्लदा जमिन भ्वाङ गर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

पोखराको जमिनमा किन पर्छ भ्वाङ : जियो टेक्निकल इन्जिनियर नारायण गुरुङ

पोखरामा विशेषगरी बर्षातको समयमा ठाउँठाउँमा जमिनमा भ्वाङ पर्नु पोखरामा प्रायस् हरेक साल भइरहने एउटा प्राकृतिक प्रकोप हो । जसको समयमै उचित व्यवस्थापन गरेन भने विपदमा परिणत धेरै समय लाग्दैन ।

पोखराको फिर्के खोला नजिकैको मुख्य सडक ।

पोखराको माटो चुनयुक्त छ, जुन पानीसँग मिसिएपछि घुलेर जान्छ । जसले गर्दा माटोभित्र खोक्रोपन उत्पन्न हुन्छ । त्यसपछि माटोको आफ्नो भार बहन शक्ति घटदछ र अन्ततस् माथिको माटो तल भासिन्छ, जसलाई हामी भ्वाङ अर्थात् सिङ्क होल भनेर जान्दछौ । भ्वाङ हुन नदिन सबैभन्दा उत्तम उपाय भनेकै पानी परेपछि बगेर आउने भलपानी सकेसम्म जमिनभित्र पस्नबाट रोक्नु नै हो । भलपानी उचित तरिकाले सुरक्षित ठाउँसम्म निकास दिनु नै हो । त्यस्ता ठाउँहरुमा सकेसम्म संरचनाहरु बनाउनु हुँदैन ।

बनाउनु परे वरिपरिबाट बगेर आउने पानीको उचित निकास गरेरमात्र बनाउनु पर्छ । भ्वाङ गैहाल्यो भने इन्जिनियरिङ तवरले टाल्नु नै भ्वाङलाई विपदमा परिणत हुनबाट रोक्नु हो । भ्वाङ गएपछि अहिले प्रचलनमा रहेको जस्तोसुकै माटो वा ढुंगाले पुरेर भ्वाङ टाल्ने गरिँदै अएको छ । यसो गरिनु कुनै पनि हिसाबले इन्जिनियरिङ विधि होइन । यसको छुट्टै प्रविधि छ ।

हरेक बर्षातको समयमा बगेर आउने भलपानी जमिनभित्र छिर्दा, भित्रभित्रै थुप्रै खोक्रोपनहरु बनिसकेका हुन सक्छन् । तथापि त्यसभन्दा माथि जमिनको सतह खस्नेसम्मको स्थिति अर्थात् भ्वाङ पर्ने स्थिती नआएको हुन सक्छ । पोखरामा त्यस्ता जमिनमाथि बनाईएका घरहरु ठूलो भूकम्प जाँदा सजिलै भासिने र त्यसले अन्ततस् ठुलो विपद् निम्त्याउन सक्दछ ।

गुरुङ पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गरेका वरिष्ठ जियो टेक्निकल इन्जिनियर हुन् ।