स्वास्थ्य संकटकाल घोषणा गर : चिकित्सक संघ


     नेचर न्युज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित


पाेखरा : नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न विज्ञप्ति जारी गरी आग्रह गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । कोरोना भाईरस संक्रमणको दोस्रो लहरका बीच नेपालका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सघन उपचार शैया, औषधी र अक्सिजनको अभावका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको, बालबालिका तथा युवा अवस्थाका नागरिकहरुमा पनि बढी संक्रमित भइरहेको दुःखद परिस्थिति प्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।

हालको नयाँ भेरियन्ट छिटो रुपमा फैलिने, बढी मात्रामा बालबालिकालाई समेत संक्रमण भईरहेको परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत सुरक्षाका उपायहरु अनिवार्य रुपमा गर्नु गराउनु हुन नेपाल चिकित्सक संघले सबैमा अपिल गरेको छ । संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बिमा प्रभावकारी रुपमा लागू गर्न पनि संघले माग गरेको छ ।संघले चिकित्सकलाई सुरक्षाका उपाय अपनाएर आफू सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न आगह गरेको छ । त्यस्तै कोभिड-१९ को नयाँ भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउन पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संघले आग्रह गरेको छ ।

काठमाण्डाैंमा वैशाख १६ गते देखि १ हप्ताका लागि निषेधाज्ञा

काराेनाे भाइरसकाे महामारी फैलिएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमबार साँझ आदेश जारी गरी यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।