यती एयर विमान दुर्घटनाको एक वर्ष : मृतकका आफन्तको उस्तै छ पिढा


     नेचर न्युज    
     माघ २ गते २०८० मा प्रकाशित


यती एयरको विमान दुर्घटना भएको १ वर्ष पुगेको छ । गत वर्ष माघ १ गते पोखराको सेती नदी किनारमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालिकाले दुर्घटना स्थलमा शोकसभाको आयोजना गरेको छ । दुर्घटना स्थल सेती नदी किनारमा स्मृति स्तम्भ निर्माण गरेर महानगरपालिकाले शोकसभाको आयोजना गरेको हो ।

शोकसभामा सहभागी हुन पुगेका मृतकका आफन्त स्मृति स्तम्भ अघि भक्कानिएका थिए । दुर्घटनाको सम्भावित कारण मानवीय त्रुटि हुन सक्ने दुर्घटना जाँच गर्न गठित आयोगले जनाएको छ । मृतकको आफन्तले मानवीय त्रुटि भएर पुन यस्ता घटना नदोहोरिउन् भनेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल सरकारले हवाई उडान सुरक्षित गर्न नियमन कडाइका साथ गर्नु पर्ने विमान दुर्घटनाका मृतकका आफन्त बुद्धि ठकुरीले बताए । दुर्घटना पछि अझै पनि बेला बेलामा अझै पनि झसङ्ग झसङ्ग हुने, निन्द्रा नलाग्ने हुने गरेको  गरेको विमान दुर्घटनामा भाइ गुमाएका उत्तम पौडेलले बताए ।

६८ यात्रु र चालकदलका ४ सदस्य सहित ७२ जना लिएर काठमाडौंबाट पोखरा उडेको विमान अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालिकाले दुर्घटना स्थल सेती किनारमा मृत्यु भएका सबैको नाम ठेगाना सहितको स्मृति स्तम्भ निर्माण गरेको छ । दुर्घटना भएको वर्ष दिन पुगेको दिन पारेर पोखरा महानगरपालिकाको आयोजनामा सोमबार दुर्घटना स्थल सेती किनारमा निर्माण गरिएको स्मृति स्तम्भ अनावरण तथा श्रद्धाञ्जली सभाको आयोजना गरियो ।

स्मृति स्तम्भ । 

श्रद्धाञ्जली सभामा स्थानीय, मृतकका आफन्त लगायतको उपस्थिति रहेको थियो । विमान दुर्घटनाको प्रत्यक्ष दर्शी स्थानीय बेल गिरी एक वर्ष अघिको घटना सम्झँदा अझै पनि कहाली लाग्ने बताउँछन् । यस्तो दुर्घटना कहिल्यै नहुने गरी सरकारले जहाज उडानमा अनुगमन गर्नु पर्ने उनले सुझाए ।  स्थानीय जमुना बस्नेत अहिले पनि पहिले झैँ घर नजिकै भएर जहाज उडान हुँदा निकै डरलाग्ने बताउँछिन् । पोखरा महानगरपालिकाले निर्माण गरेको स्मृति स्तम्भ नजिकैको सेती किनारमा सुरक्षाकालागि तार वार लगाउने लगायतका काम पनि छिट्टै सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।

पोखरा महानगरपालिकाको १० लाख लगानीमा स्मृति स्तम्भ सहित स्मृति पार्कको रुपमा विकास गर्ने र पोखरा ७ र १५ वडा जोड्ने गरी दुर्घटना स्थल सेती नदीमा झोलुङ्गे पुलको पनि निर्माण गरिने मेयर आचार्यले बताए । आन्तरिक उडानमा रहेका विमान दुर्घटनामा परेर यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना हो । विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको थियो । ढल्–ब्ल्ऋ, कल साइनको विमान अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै बाँकी रहँदा दुर्घटना भएको थियो ।