अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै धेरै २ लाख ५ हजार पर्यटक पुगे


     नेचर न्युज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



पाेखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा र मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भारतीय पर्यटक समेत गरेर अहिले सम्मकै धेरै पर्यटकले अवलोकन गरेका छन् । पदयात्रा पर्यटनकालागि विश्वमै प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा कोभिड अघि सन् २०१९ मा सबैभन्दा धेरै १ लाख ८३ हजार पर्यटक पुगेका थिए ।

कोभिडका एक आर्थिक वर्षमा इतिहासकै कम पर्यटक संख्या ४ हजार पर्यटक मात्र पुगेको एक्यापको तथ्याङ्क छ । कोभिड कम हुँदै गएपछि सन् २०२३ मा १ लाख ७२ हजार १ सय ८५ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । त्यसमा भारतीय पर्यटकको संख्या ९० हजार र तेस्रो मुलुकका पर्यटकको संख्या ८२ हजार रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले बताए । यस आर्थिक वर्षको जेठ महिनाको २५ गते सम्म अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै धेरै २ लाख ५ हजार पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको एक्यापका प्रमुख कडरियाले जानकारी दिए ।

यस आर्थिक वर्षको जेठ महिनाको करिब अन्तिम सम्म भारतीय पर्यटक १ लाख ३ हजार र अन्य मुलुकका पर्यटकको संख्या १ लाख २ हजार रहेको बताइएको छ । गण्डकी प्रदेश र प्रदेशको राजधानी सहर पोखरामा वार्षीक रुपमा कति पर्यटक घुम्न आउँछन् भन्ने आधिकारिक डाटा भने छैन । प्रदेशमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पोखरा विमानस्थलले भने कति पर्यटक आए भन्ने डाटा राख्ने गरेको छ । पोखरालाई सरकारले हालै पर्यटकीय राजधानी घोषण गरेको छ ।

पर्यटकीय राजधानी पोखराको बजार क्षेत्रमा करिब १२ सय होटेल रहेको र ४० हजार भन्दा बढी बेड संख्या रहेको होटेल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।पोखरामा होटेलको जमिन बाहेक बिल्ड्रीङको लागानी मात्रै ५ खर्व लगानी रहेको अध्यक्ष सुवेदीले सुनाए । पोखराका होटलले मात्र १५ हजार भन्दा बढीलाई रोजगार दिएको अध्यक्ष सुवेदीले बताए । फुल अकुपेन्सिमा चलको अवस्थामा दक्ष जनशक्तिको अभाव हुने पनि उनले बताए ।

दक्ष जनशक्ति पलायन हुने क्रम बढेकोले जनशक्तिको अभाव परेको पनि उनले सुनाए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछि पर्यटकको आगमन ठूलो संख्यामा बढ्ने विश्वासमा पोखरामा धेरै पर्यटकीय पूर्वाधार होटेल, रेस्टुरेन्ट, साहसिक खेल, लगायतमा लगानी थपियो । पर्यटक आगमन बढे पछि थपिएका पूर्वाधारको तुलनामा कम भएको पर्यटन व्यवसायीले बताएका छन् । पोखरामा पर्यटन क्षेत्रले मात्र ६५ हजार बढीलाई रोजगार दिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य टीकाराम सापकोटाले बताए । गण्डकी प्रदेशमा ७५ हजार बढीलाई पर्यटन उद्योगले रोजगारी दिएको पनि उनले बताए । पोखरामा वार्षिक रुपमा स्वदेशी र विदेशी समेत गरेर १८ लाख पर्यटक आउने अनुमान रहेको पनि उनले सुनाए ।