पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका प्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गेटेरेसको चिन्ता र हाम्रा हिमाल


     नेचर न्युज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित


पोखरा : हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक कार्यक्रममा पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताएका थिए । वास्तवमा मानवका गतिविधि पृथ्वीमा रहेका सबै जीवकालागि चिन्ता जनक बन्दै गएको छ । यसैलाई सचेत गराउँदै महासचिव गुटेरेसले यो चिन्ता गरेको हुनुपर्छ ।

मानवले बनाएका परमाणु बम पृथ्वीमा रहेका कुनै एक प्राणीलाई मात्र होइन सबै प्राणीलाई नै ध्वस्त पार्ने सम्मका अवस्था सृजना हुने देखिन्छ । शक्ति राष्ट्रहरूले आफ्नो शक्ति प्रदर्शनकालागि यस्तो जोखिमपूर्ण हतियार उत्पादन गर्ने होडले एक दिन पृथ्वीको यो सुन्दर सृजना नै खरानी हुने जोखिम बढेको छ । उद्योगधन्दाबाट निस्कने प्रदूषण लगायतका कयौँ जोखिम पूर्ण उत्पादन र व्यवहारले पृथ्वीको तापक्रम पनि बढी रहेको छ । पृथ्वीको तापक्रम बढ्दा विश्वकै उच्च हिमालय पर्वतहरू पनि जोखिममा छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कास्कीको अन्नपूर्ण आधारशिविर पुगेर पनि हिमाल पग्लँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले हालै न्युर्योकमा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा पुगेर पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बनाउनुको सन्देश पनि शक्ति राष्ट्रहरूलाई सचेत गराउनु नै हो ।

तर शक्ति राष्ट्रहरू महासचिवको यो चिन्ता प्रति चासो र चिन्ता गरेको देखिँदैन । महासचिव गुटेरेसले युरोपेली आयोगको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले हालै आधिकारिकरुपमा सन् २०२४ मेमा रेकर्ड गरिएको तापक्रम इतिहासमा सबैभन्दा धेरै भएको बताएका थिए । यो अहिलेसम्मको सबैभन्दा तातो महिनामध्येको लगातार १२ महिना हो उनले भनेका थिए । उनले आशावादीरुपमा मानव समाधान पनि हो भन्दै तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्नका लागि ठोस कारबाही चाल्न आग्रह गरेका थिए । 

नेपालका हिमालहरुको अवस्था कहालीलाग्दो छ । हिउँ पग्लिँदै छ । पहिरो खस्दै छ । हिमताल सुक्दै छन् । फुट्दै छन् । नखाएको विष लागे जस्तो नेपालका हिमाल पग्लनुमा नेपालको कुनै योगदान छैन । शक्ति राष्ट्रका व्यवहारले हाम्रा हिमाल पग्लदै गएका हुन् । शक्ति राष्ट्रहरुले यसको क्षतिपूर्ति दिनु पर्छ । पृथ्वीको तापक्रम न्यूनिकरण तर्फ पनि संगसंगै लाग्न दवाव दिनु पर्छ । विश्वका सबै प्राणाी बाँच्न सक्ने वातावरण बनाउनु पर्छ । हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जे चिन्ता गर्नु भएको छ आजको यर्थाथ यही हो । यसमा शक्ति राष्ट्रले उहाँका चिन्ता निवारण तर्फ लाग्न ढिलाई गर्नु हुदैन ।