चितवनमा मान्छे आक्रमण गर्ने बाघ नियन्त्रणमा


     नेचर न्युज    
     श्रावण २१ गते २०८१ मा प्रकाशित


चितवनको नारायणगढको नारायणी नदी किनारमा शनिबार बिहान मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । मर्निङवाकमा निस्केका भरतपुर २ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

बाघलाई ड्रोन, हात्तीको प्रयोग गरी चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले डार्ट गरेर १७ घण्टापछि नियन्त्रणमा लिएका हुन् । नदी किनारको नरकटको झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाई तर्साउने गरेको थियो ।

बाघकोे ब्यवहारबाट हात्तीहरु बिच्किएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणशेप्रसाद तिवारीले जनकारी दिएका छन् । नियन्त्रणमा लिएको बाघलाई सौराहामा रहेको निकुञ्जको खोरमा लगेर राखिने सूचना अधिकारी तिवारीले बताए ।