
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको अनुमति पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेसँगै लामिछाने काठमाडौँबाट पक्राउ परेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पार्टी कार्यालय काठमाडौँबाट शुक्रबार साँझ पक्राउ गरी सडक मार्ग हुँदै पोखरा ल्याउँदै गरेको छ । अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईबीलाई पत्र पठाएर अनुरोध गरेको थियो ।
कृष्ण प्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनको आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ । पक्राउपरेपछि थप अनुसन्धान हुने अनुसन्धान अधिकारी समेत रहेका कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । रास्वपा सभापति लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै सङ्गठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन उल्लेख गरिएको छ । अनुसन्धान अधिकारी समेत रहेका कास्कीका डिएसपी बसन्तकुमार शर्माको पत्रमा हस्ताक्षर रहेको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछाने गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मै पूर्व डिआइजी समेत रहेका जोशी पक्राउ परेका थिए । जोशी पक्राउपरेलगतै भोलिपल्ट पार्टी सभापति लामिछाने पनि पक्राउ पर्ने त्रासमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय कास्की अगाडी प्रदर्शन गरेका थिए । सहकारी पीडितले सभापति लामिछानेले छानबिनमा सहयोग नगरेको र उनी पनि सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै प्रदर्शनमा उत्रेको थियो ।
पोखराको सूर्यदर्शन समेतका ७ सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । पूर्व डिआइजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई गोर्खा मिडिया नेटवकका व्यापारिक साझेदार थिए । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रवार अनुमति दिएको थियो ।
सहकारी ठगी मुद्दामा छविलाल जोशीविरुद्ध थप २० दिन म्याद थप
नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न थप २० दिन म्याद थप गरिएको छ । जोशीलाई थप समय थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीले कास्की अदालतबाट थप २० दिनको अनुमति दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोशी मुछिएका छन् । पोखराका सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानकालागि जोशीलाई असोज ६ गते पक्रेर पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
पहिलोपटक असोज ७ गते ५ दिन थुनामा राख्ने अनुमति अदालतले प्रहरीलाई दिएको थियो । दोस्रो पटक ७ दिन म्याद थप भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सहकारी ठगी मुद्दामा जोशी पक्राउ परेको भोलीपल्ट पार्टी सभापतिलाई पनि पक्राउ गर्ने षडयन्त्र भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की अघि प्रदर्शन गरेका थिए । रास्वपाका कार्यकर्ता प्रदर्शन गरेपछि सहकारी पीडितले पनि जिल्ला प्रशासन कार्याल कास्की अघि प्रदर्शन गर्दै रास्वपा अध्यक्ष लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोप लगाएका थिए । पूर्व गृहमन्त्री समेत रहेका रास्वपा अध्यक्ष लामिछानेले सरकारमा रहँदा सहकारी पीडितको पक्षमा कुनै कदम नचालेको आरोप छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…