
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभई विश्वले भविष्यमा सामना गर्नुपर्ने सम्भावित महाविपत्तिको चेतावनी भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले भोगेको भोटेकोशी बाढीको त्रासदीपूर्ण अवस्था जलवायु परिवर्तनबाट सिर्जित बढ्दो जोखिमको गम्भीर संकेत भएको बताए। उनले विश्व समुदायलाई यस्ता विपत्तिको जोखिमलाई गम्भीरतापूर्वक लिन र समयमै आवश्यक कदम चाल्न आग्रह गरे।
‘हामीले भोटेकोशी बाढीको त्रासदीपूर्ण अवस्था भोग्यौँ। यो नेपालका लागि मात्र होइन, विश्वका लागि पनि एउटा चेतावनी हो,’ उनले भने।प्रधानमन्त्री शाहले आफू विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रको आशाबारे कुरा गर्न चाहेको भए पनि महाविपत्तिले निम्त्याएको मृत्यु, विनाश र पीडाबारे बोल्न बाध्य भएको बताए। ‘म ती परिवारहरूका बारेमा बोल्दै छु, जो आफ्ना प्रियजनहरूको पर्खाइमा छन्। जो अब कहिल्यै घर फर्किने छैनन्। म ती समुदायहरूका बारेमा बोल्दै छु, जो माटो, ढुंगा र पानीभित्र आफ्ना मानिसहरू खोजिरहेका छन्, जसका शवहरू कहिल्यै फेला नपर्न सक्छन्,’ उनले भने।
बाढीले केही मिनेटमै पुल, सडक, विद्यालय, घर तथा मानिसका जीविकोपार्जनका आधारसमेत बगाएको उल्लेख गर्दै उनले विपत्तिले नेपालको दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा भइरहेको प्रगतिमा समेत अवरोध पुर्याएको बताए। उनका अनुसार चार साताअघि नेपालले भोगेको विनाशकारी अवस्था कुनै स्थानीय वा एक देशको मात्र त्रासदीका रूपमा बुझ्नु हुँदैन। ‘यो विश्वका लागि एउटा चेतावनी थियो। म आज तपाईंहरूलाई सोध्छु—के हामीले वास्तवमै त्यो चेतावनी सुन्यौँ रु’ उनले प्रश्न गरे।
प्रधानमन्त्री शाहले तीन वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिवले सगरमाथाको छायामा उभिएर जलवायु विपत्तिबारे दिएको चेतावनीसमेत स्मरण गरे। ‘नेपालमा हामीले सुन्यौँ, हाम्रा समुदायहरूले सुने, विश्वभरका वैज्ञानिकहरूले सुने र उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्याए। तर हामी राजनीतिक नेताहरूले ती चेतावनीलाई जोखिममा रहेका मानिसहरूलाई आवश्यक पर्ने गति र परिमाणमा कार्यमा रूपान्तरण गर्न सकेनौँ,’ उनले भने।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा संवेदनशील हिमाली पर्यावरण अस्थिर बन्दै गएको उनले बताए। त्यसका कारण बाढी, पहिरो, हिमताल तथा हिमनदीजन्य जोखिमलगायतका श्रृंखलाबद्ध विपत्ति बढ्दै गएको उनको भनाइ थियो। भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीले नेपाल–चीन सीमाका दुवैतर्फ ठूलो क्षति पुर्याएको र त्यसको प्रभाव सीमापारि भारतसम्म समेत पुगेको उल्लेख गर्दै उनले जलवायु संकटको प्रभाव कुनै देशको सीमाभित्र सीमित नरहने बताए।
‘जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढीहरूले छाप वा पासपोर्ट बोकेर यात्रा गर्दैनन्,’ उनले भने। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महादेशलाई दोषारोपण गर्न आफू संयुक्त राष्ट्रसंघमा नआएको बताए। बरु जलवायु संकटलाई विश्वव्यापी सहकार्य र साझा जिम्मेवारीका आधारमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी जलवायु परिवर्तनलाई अर्को भू–राजनीतिक युद्धमैदान बनाउन चाहँदैनौँ। हामी यहाँ सबैलाई पुनः प्रतिबद्ध हुन, जिम्मेवारी र ऐक्यबद्धता साझा गर्न आह्वान गर्न आएका हौँ,’ उनले भने। उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय रूपरेखा महासन्धिले स्वीकार गरेको ‘साझा तर फरक जिम्मेवारी र सम्बन्धित क्षमता’को सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।
ऐतिहासिक रूपमा जलवायु संकटमा बढी योगदान गरेका तथा त्यसको सामना गर्ने आर्थिक र प्राविधिक क्षमता बढी भएका मुलुकले बढी जिम्मेवारी लिनुपर्ने उनले बताए। नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको असरबाट उच्च जोखिममा रहेका मुलुकले जलवायु न्याय, अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा क्षति र नोक्सानीका लागि अन्तर्राष्ट्रिय सहयोग पाउनुपर्नेमा उनले जोड दिए। नेपालले महासभामा भोटेकोशी–त्रिशूली विपत्तिपछि पुनर्निर्माण तथा जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको थियो।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई संयुक्त राष्ट्रसंघका दस्तावेजमा सीमित नाराका रूपमा मात्र नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए। उनका अनुसार हिमाली मुलुकले भोगिरहेको जलवायु जोखिम विश्वव्यापी जलवायु संकटकै परिणाम भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य, पर्याप्त वित्तीय स्रोत र जोखिममा रहेका समुदायको संरक्षणलाई प्राथमिकता दिन आवश्यक छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…