न्यूनवर्षा हुने हिमालपारिका जिल्लामा उच्च वर्षाको प्रभाव बाढी र पहिरो


     नेचर न्युज    
     असाेज २२ गते २०८३ मा प्रकाशित


हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले ढलान गरिएका हुन्छन् । हिमाली मरुभूमिका रूपमा समेत चिनिने यी जिल्लाहरूको भौगोलिक बनावट नै ठूलो वर्षा थेग्न नसक्ने खालका छन् । 

निकै कम पानी पर्ने जिल्ला मनाङ र मुस्ताङमा ठूलो वर्षा हुन थालेपछि बाढी पहिरो जाने र जनजीवन नै अस्तव्यस्त बन्ने क्रम बढेको छ । दुई वर्ष अघि मुस्ताङको कागबेनी बजारका  केही घर नै बगाउने गरी मुक्तिनाथ तर्फबाट र काली गण्डकी नदीमा ठूलो बाढी आयो । यस वर्ष मनाङको चामे र ताल गाउँमा तीन दिनमै करिब ३०० मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो वर्षा त्यहाँको भूगोल अनुसार भीषण र विनाशकारी रहेका मौसमविद्ले बताएका छन् । 

वर्षा संगै आएको बाढीले मनाङको सदरमुकाम चामे बजारका केही घर नै बगायो भने केही घरमा क्षति पुयाएको छ । चामे बजारमा रहेको पुल पनि बाढीले बगाएर ल्याएको ढुङ्गा माटोले पुरेको थियो । सदरमुकामका स्थानीय बाढी आउनु अघि नौ सचेत भएर घर छाडेर सुरक्षित स्थानमा गएकोले ज्यान जोगिएको थियो । मनाङमा पछिल्लो वर्षहरूमा ठूलो पानी पर्न थालेपछि मस्याङदी नदी र सहायक नदीमा बाढी आउँदा सदरमुकामलाई नै जोखिममा पारेको छ । पदयात्रा पर्यटनकालागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने मनाङमा पछिल्लो विश्व तापक्रम वृद्धिको प्रभाव परिरहेको छ । यसै कारण वर्षा धेरै हुने पहिले उत्पादन नहुने अन्न, सागपात पनि उत्पादन हुने क्रम बढेको छ । 

बंगालको खाडीमा विकसित न्यून चापीय प्रलीको प्रभावले हिमाली जिल्लाहरुमा ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । 

तस्बिरहरु : विकास कार्की